Logo

प्रचण्डद्वारा हिंसात्मक संघर्षको संकेत, युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन



काठमाडौं, ४ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिएका छन् । उनले अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिएका हुन् ।

‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भने,‘किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उनले विगतमा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका क्रममा लाठी खाएको स्मरण गर्दै आफू पनि तयार भएको बताए ।

उनले युवाविद्यार्थीलाई अझै कडा रुपमा प्रस्तुत हुन भने । आन्दोलन साकाहारीले मात्र नपुग्ने बताए । उनले अबको आन्दोलन हिंसात्मक हुनसक्ने संकेत गरे ।

माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्न लाग्दा प्रचण्डको आक्रामक अभिव्यक्ति आएको छ । यसले अबको आन्दोलन हिंसात्मक हुने संकेत समेत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादी भन्दै विदेशीको अगाडि लम्पसार परेको आरोप लगाए । उनले भने,‘उहाँ लम्पसारवादी हुनुहुन्छ ।’

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्