काठमाडौँ, ४ माघ: विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) द्वारा आज आयोजित साक्षात्कारमा नेताहरुले पछिल्लो समय संविधान नै विवाद परेको भन्दै त्यसको रक्षाका निम्ति दलहरुबीचको एकता आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागीहरुले आफ्नै दलभित्र पनि लोकतन्त्रको अभ्यास गरिनु पर्ने तथा अपाङ्गता, पिछडिएका, दलित, सीमान्तकृत, मधेशी, अल्पसङ्ख्यक समुदायको आवाज उठाउन नसकेका लगायतका मुद्दाहरु प्राथमिताका साथ उठाएका थिए । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नो पार्टी बहुलवादमा विश्वास गर्ने दल भएको र लोकतन्त्रप्रतिको अटल निष्ठा राख्ने भएकाले संवैधानिक सर्वोच्चतालाई अङ्गीकार गरेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता लीलामणि पोखरेलले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अदालतमा रहेको संसद् विघटनसम्बन्धी मुद्दामा दोहोरो चरित्र देखाउन नहुने बताए । जनता समाजवादी दलका नेता वृषेशचन्द्र लालले ठूला राजनीतिक दलहरु जिम्मेवार नभएका कारणले आजको अवस्था आएको बताउँदै संविधानवादको रक्षा गरिनुपर्नेमा जोड दिए । पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्मा प्रतिपक्ष दलको भूमिका कमजोर भएका कारणले पनि प्रतिनिधिसभा विघटन भएको धारणा व्यक्त गरे ।-रासस