Logo

मुख्य नाकामै उठेन लक्ष्यअनुसार राजस्व



काठमाडौं, माघ ५। सरकारले आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जबाटै लक्ष्यअनुसार राजस्व उठाउन सकेन । वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो ६ महीनामा तोकिएको लक्ष्य भेट्टाउन असफल भएको हो ।

यो भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको अवधिमा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार अधिकृत रमेश सुकमनीका अनुसार ६ महीनामा ७३ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको छ ।

वीरगञ्ज भन्सारलाई यो अवधिका लागि ८५ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व लक्ष्य गत आव २०७६÷७७ को समीक्षा अवधिको तुलनामा १२ अर्ब रुपैयाँ कम हो ।

कोरोना महामारीका कारण आयात, आवागमन, उत्पादन र आपूर्तिमा परेको असरका कारण भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको अधिकृत सुकमनीले बताए । ‘यति असहज अवस्थामा पनि यो ६ महीनामा यत्तिको राजस्व उठ्नुलाई उपलब्धि नै मान्नुपर्छ,’ सुकमनीले भने ।

वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात विस्तारै लयमा फर्किइरहेकाले आगामी महीनामा राजस्वमा सुधार आउने भन्सारले बताएको छ । यो भन्सारले चालू वर्षको ६ महीनामा पैठारी महसुल २८ अर्ब रुपैयाँ उठाएको छ ।

निकासीबापत ७२ लाख रुपैयाँ राजस्व लिएको छ । मूल्य अभिवृद्धिकर २५ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको छ । अन्तःशुल्क ८ अर्ब ६६ करोड उठाएको भन्सारले पेट्रोलियम पदार्थको आयातमा पूर्वाधार कर ६ अर्ब ८८ करोड र सडक निर्माण तथा सडक सुधार दस्तुर शीर्षकमा ३ अर्ब ८३ करोड रुपैयाँ उठेको भन्सारले जानकारी दिएको छ ।

यो वर्ष राजस्वमा योगदान दिने अधिकांश वस्तुको आयात घटेकाले त्यसको प्रभाव राजस्वमा देखिएको भन्सारको दाबी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्