Logo

चेक बाउन्स मुद्दामा सम्लग्न तीन जना पक्राउ



काठमाडौं, ५ माघ । बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन जना प्रतिवादी पक्राउ परेका छन् । बैकिङ कसूर(चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरीका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकीका २९ वर्षीय विष्णु अंगाई रहेका छन् ।
पक्राउमध्ये राम बहादुरलाई आइतबार चितवन खैरेनीबाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी बिभिन्न बैंकका चेकहरु काटी पीडितलाई दिई बैकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्