काठमाडौँ, ६ माघ: चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै तीन छक्का र ६ चौका हाने । यस्तै अर्जुन कुमालले ४६, विपीन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रन बनाए ।
बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले दुई-दुई तथा रवीन्द्र शाहीले एक विकेट लिए । अहिले कर्णालीले ब्याटिङ गरिरहेको छ ।
यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश नं २ बीच खेल भइरहेको छ । लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । उसका लागि सन्दीप रिजालले ८३, सौरभ खनालले ५६, विक्रम भुसालले ३६, सन्दीप सुनारले ११, अमित तामाङले ११ तथा कृष्ण कार्कीले १० रन बनाए ।
बलिङतर्फ प्रदेश नं २ का लागि हरिशङ्कर शाहले तीन, दिब्याङशु मल्लिकले दुई तथा शैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुश्लिङले एक एक विकेट लिए । अहिले प्रदेश नं २ ले २५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।-रासस/File Photo