Logo

अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक



काठमाडौं, माघ ७ । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार महामारीका कारण नेपालको अर्थतन्त्रमा ३ खर्ब २२ अर्बको उत्पादनमा क्षति पुगेको र त्यसलाई उकास्न सो बराबरको लागत आवश्यक पर्ने देखिएको हो ।

कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको क्षति वार्षिक उत्पादनको वृद्धिदरलाई आधार मान्दा १ खर्ब ६६ अर्ब हो । अध्ययन अनुसार समग्र क्षतिले गर्दा २०७६र७७ मा आर्थिक वृद्धिदर शून्य दशमलव ६ प्रतिशतमा सीमित भएको देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गएको वर्षको वृद्धिदर २ दशमलव २७ प्रतिशतको वृद्धिदर कायम हुने अनुमान गरेको थियो । आयोगको अध्ययनले भने वृद्धिदर घट्ने अनुमान गरेको छ ।

महामारीका कारण आर्थिक गतिविधि सुस्त भएको, उत्पादन घटेको तथा रोजगारी संकुचित भएको आयोगको निष्कर्ष छ । यी सबै सूचकलाई पहिलेकै अवस्थामा ल्याउन विभिन्न क्षेत्रमा रणनीतिक लगानी गर्नुपर्ने बताइएको छ ।

आयोगले संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धिका लागि लगानी गर्नुपर्ने ठहर गरेको छ । राहत तथा पुनरूत्थानका लागि अघि सारिएका पाँच रणनीतिमा संक्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास र आत्मनिर्भरता अभिवृद्धि समेटेर पाँच प्रकारका रणनीति कार्यान्वयनका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन खण्डमा विभाजन गरिएको आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिए ।

कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच प्राप्त गर्ने सरकारको लक्ष्यमा भने ठूलो प्रभाव पारेको निष्कर्ष निकालिएको छ । योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरीबी बढेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसंख्या गरीबीको रेखामुनि पर्न गएको अनुमान गरिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्