बलेवा, ७ माघ । कान्लामा रहेका चिलौनेका रुखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढलाइका रुखको ठुटो कुहिदैगर्दा खेतका गरा भने हराभरा हुँदैछन् । गत असारमा लगाएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रुप धारण गर्दै छ । बिरुवामा मुना मात्रै पलाएका छैनन् तिनै मुना हेरेर दङ्ग पर्ने किसानका मनमा आशा पनि पलाएको छ । बागलुङ नगरपालिका–१२ को सहेलामा रहेको ठूलो फाँट यतिबेला कागतीका बिरुवामा पलाएको मुनाले सिँगारिएको छ ।
रुख र झारपात फाँडेर उजाड देखिने खेत नजिकैबाट नियाल्दा भने भविष्यको भाषा बोलिरहेको हुन्छ । खेती छाडेर खाडल खनेर कागतीको बिरुवा लगाउँदा धेरैले खेत बाँझो राखेको भनेर किसानलाई गाली गरेका थिए । अहिले हुर्किंदै गरेका कागतीका बिरुवाले प्रश्नहरुको जवाफ दिइरहेका छन् । सहेलाको यो फाँटमा रहेको खेतको मोही भने धेरै बागलुङ नगरपालिका– १४ मा बस्छन् । अर्माह गाउँमा बस्ने ४० किसानको समूह छ । ‘चासो किसान समूह’ले जमिन एकीकृत गरेर कागती लगाएको हो ।
“आम्दानीका लागि क्रमभङ्गता गर्नेपर्ने थियो, त्यो साहस हामीले ग¥यौं’, समूहका अध्यक्ष केशव सुवेदी भन्छन्, “बिरुवा रोप्ने बेलासम्म के कसो हुने हो भन्ने थियो, अहिले मुना पलाए, हाम्रो आश जागेको छ ।” परम्परागत खेती प्रणालीले खर्चसमेत नउठेपछि बाली परिवर्तनमा लागेको सुवेदी बताउछँन् । तीनसय रोपनी जमीनलाई एकीकृत गरेर कागती खेती थालिएको छ । यो वर्ष दुई हजार एकसय बिरुवा रोपिएको र बाँकी जमीनमा अर्को वर्ष बिरुवा लगाउने योजनामा किसान छन् ।
“हाम्रो सिकाइ पनि हो एकै पटक लगाउँदा उत्पादन पनि एकै खालको हुन्छ”, सुवेदी भन्छन्, “बिरुवा जस्तै उत्पादनमा पनि विविधताको लागि हामीले क्रमशः काम गर्ने सोच बनायौं ।” छिटो उत्पादन लिन हाँगा नर्सरी गरिएका बिरुवा र बीउबाट निकालिएका बिरुवा दुबै लगाइएको छ । किसानले कागती खेती आफ्नै बलबुताले शुरु गरेका हुन् । अहिले भने सरोकारवाला निकायको ध्यान तानिएको छ । एक रोपनी जमीनको प्रतिवर्ष रु पाँच हजार उपलब्ध गराउने गरी जमीन एकीकृत गरिएको थियोे । यो वर्षको वर्षे फसल आउने समयमा जग्गाधनीलाई रकम उपलब्ध गराइने छ । रासस