काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राम्रो सहकार्य रहेको र विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ लोकप्रिय कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
कुराकानीको क्रममा शेरबहादुर देउवा र तपाईबीच कुरा मिल्छ ? सहकार्य हुन्छ ? संसद पूनःस्थापनाको लागि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘मलाई लाग्छ शेरबहादुरजीले नेतृत्व गरेको नेपाली कांग्रेस भनेको आफूलाई लोकतान्त्रिक प्रणालीको निरन्तरको पक्षधर शक्ति हो, मान्नुपनि हुन्छ, त्यो स्थापित पनि छ । त्यो अवस्थामा अहिले लोकतन्त्र धरापमा परेको छ, अलोकतान्त्रिक केपीको कदमबाट, संविधान धरापमा परेको छ । असंवैधानिक कदमका कारण । अहिलेपनि शेरबहादुरजी र हाम्रो बीचमा असंवैधानिक र अलोकतान्त्रिक भन्नेमा त हाम्रो समझदारी नै छ । उहाँपनि आन्दोलनमै हुनुहुन्छ, हामी पनि आन्दोलनमै छौं । त्यसकारण मूलभूतः कुरा त मिलेकै छ । जहाँसम्म निर्वाचनको कुरा हो, एकवर्षपछि निर्वाचन हुँदैछ, हामी सबै मिलेरै चुनाव लड्ने हो । कोही ठाउँमा प्रतिष्पर्धा गरौंला, कोही ठाउँमा तालमेल गरौंला, प्रणाली बच्यो भने, संविधान बच्यो भने त खेल्ने मैदान त सधैं भईराख्छ नि राजनीतिक पार्टीहरुलाई, त्यसकारण मलाई के विश्वास छ भने शान्ति सम्झौताको मुख्य हस्ताक्षरकर्ता हुनुको नाताले नेपाली कांग्रेस र हाम्रोबीचमा समझादारी हुन्छ भन्ने मलाई विश्वास छ ।’
लोकतन्त्र र संविधानको रक्षाको लागि जतिसुकै लचिलो हुनपनि आफूहरु तयार रहेको कुरा पनि बताईसकेको दाहालको भनाई थियो । उनले भने,‘हामीले शेरबहादुर देउवाजीलाई भनेका पनि छौं, हामीले नेपाली जनतालाई पनि भनेका छौं, मैले भनिराखेको छु, अहिलेपनि म यही अन्तर्वार्तामार्फत पनि बडो प्रष्टसँग भन्न चाहन्छु–राजनीतिक स्थायित्वको निम्ति, लोकतन्त्रको सुदृढीकरणको निम्ति र नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नको निम्ति छिमेकीहरुसँग सन्तुलित सम्बन्ध, भारत, चीन सबैसँग सन्तुलित सम्बन्धको लागि पनि हामी मिलेर जानुको विकल्प छैन् । हामी मिल्छौं ।’
पत्रकार धमलाले ‘उसो भए तपाईँ र शेरबहादुरबीच एउटा सहमति हुन्छ भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ ?’ भन्ने प्रश्न तेर्साए । जवाफमा दाहालले भने–‘हुन्छ भन्नेमा मलाई विश्वास छ ।’ धमलाले अर्को प्रश्न तेर्साए–‘त्यसो भए केपी शर्मा ओलीलाई अब तपाईँहरुले सडकबाटै हटाउनको लागि आन्दोलनमा जानु लाग्नुभएको हो ? तपाईँले त भन्नुभएको छ–अब म आमहड्ताल गर्छु, शाकाहारी आन्दोलनले पुगेन, एकदम हिंसात्मक आन्दोलन गर्ने घोषणा गरिसक्नुभएको छ, अबको आन्दोलन कस्तो हुन्छ ?’ जवाफमा प्रचण्डले भने–‘अब एउटा कुरा, शब्दलाई अलिक बढि पनि नगरिदिउँ है, मैले के भनेको छु भने–मैले हिंसात्मक आन्दोलन गर्ने भनेको छैन्, बरु म चाहीँ आँफै बरु संसद पूनःस्थापनाको निम्ति, लोकतन्त्र रक्षाको निम्ति, हिजो मैले संसद पूनःस्थापनाकै निम्ति गिरिजाबाबुको टाउको फुटेको दृश्य पनि देखेको छु, मैले भनेको त्यो हो, म बरु टाउको फुट्छ भनेपनि तयार, तर लोकतन्त्र बच्नुपर्यो, संविधान बच्नुपर्यो । यो प्रणाली बच्नुपर्यो भनेको हो मैले । हिंस्रक हुने भनेको होईन् । म झम्टिन जान्छु भनेको हो । आक्रोश छ ममा । आवेग छ । हो, मैले त्यो कुरा भनेको हो ।’
आफूलाई अदालत र निर्वाचन आयोगप्रति पूर्ण विश्वास र भरोसा रहेको दाहालको भनाई छ । तर, अदालतले संसद पूनःस्थापना गरेन ? भने तपाईँहरुको आन्दोलन कस्तो हुन्छ ? भनेर पत्रकार धमलाले सोधेको अर्को प्रश्नमा उनले भने,‘यो सबै परिवर्तन, लोकतान्त्रिक शक्ति र विद्रोही शक्तिको सम्झौताबाट आएको हो, आज यो केपीजीले धरापमा पारेका छन् । यसको रक्षाको लागि मेरो जिम्मेवारी बढ्यो । देउवाजीसँग मैले छलफल गर्नुको तात्पर्य पनि यही हो । हस्ताक्षरकर्ताको नाताले मेरो जिम्मेवारी ठूलो छ । हिजो गिरिजाबाबुले धेरै लड्नुभयो । संसद पूनःस्थापना भैहाल्छ ।’ संविधान मिचिएको मिच्चिएकै भयो भने नेपाली जनताले त्यो स्विकार्य नहुने उनको चेतावनी छ । ओलीले देश भाँडमा जाओ भन्ने चाहेको उनको आरोप छ ।
उनले आफू अस्थिर नभएको पनि जिकिर गरे । उनले आफू गतिशिल व्यक्ति भएको स्पष्ट पारे । आफूले ठोस परिस्थितिको ठोस नीति र योजना बनाएर हिँड्ने व्यक्ति भएको उनको जिकिर छ । उनले आफूले प्रधानमन्त्री बन्ने दाबी नगरेको जिकिर गरे । उनले भने,‘मुख्य काम संविधान बचाउने हो, फेरि प्रधानमन्त्री म दावी गर्दिनँ। संसद पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन। पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो।’ संसद पूनःस्थापना भयो भने देउवालाई प्रधानमन्त्री बनाउन र स्विकार गर्न आफू तयार रहेको पनि उनले विश्वास दिलाए । त्यसो भयो तपाईँहरुबीच यसबारेमा सहमति हुन्छ ? भन्ने धमलाको अर्को प्रश्नमा उनले भने,‘हामीले त्यसरी त सल्लाह गरेका छैनौं, मेरो तर्फबाट शेरबहादुर देउवाजी अहिले नेपाली कांग्रेसको सभापतिको हैसियतले त्यसको दल नेताको हैसियतले उहाँलाई प्रधानमन्त्री स्विकार्न मलाई केही अप्ठ्यारो छैन् । हिजो पनि मैले सहमति गरेर उहाँलाई प्रधानमन्त्री स्विकारेको हो । समझदारीअनुसार मैले उहाँलाई समयमै प्रधानमन्त्री बनाएको नि हो । शान्ति प्रक्रियाको पहिलो अपिलकर्ता म र शेरबहादेउवाजी नै हो । त्यो नाताले पनि एउटा केही न केही सम्बन्ध छ । मलाई संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्तमा म उहाँलाई प्रधानमन्त्री बनाउने या उहाँले कोही भन्नुहुन्छ भने त्यसलाई पनि मान्न मलाई केही आपत्ति छैन् ।’