Logo

प्रचण्डको प्रधानमन्त्री प्रस्तावलाई देउवाले मान्लान् ?



काठमाडौं, ७ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । उनले देउवा वा उनले चाहेको अन्य जो कोहीलाई प्रधानमन्त्री मान्न आफू तयार रहेको बताएका छन् ।

म शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री मान्न तयार छु,’ प्रचण्डले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भने, ‘संविधान र प्रणाली बचाउने शर्तमा उहाँ या अरु कसैलाई भन्नुहुन्छ भने त्यसलाई पनि मान्न कुनै अप्ठ्यारो छैन ।’ प्रचण्डले देउवासँग सिधै राजनीतिक लेनदेनको सन्देश पनि दिएका छन् । जसमा प्रचण्डले संसद पुनःस्थापनाको राजनीतिक एजेन्डालाई मान्नुपर्ने शर्त समेत छ ।

देउवाले प्रतिनिधि सभा पुनःस्थापनामा कुनै जोडबल नगरिरहेको र चुनावमा जाने कुरा गरिरहँदा प्रचण्डको पछिल्लो भनाई आएको हो । यसअघि प्रचण्डले माधवकुमार नेपालसहित देउवालाई भेट्दा पनि प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । प्रचण्ड र नेपाल दुवैले प्रधानमन्त्रीको प्रस्ताव गरेपनि देउवा परिवर्तन भइसकेका छैनन् । उनी पार्टीमा छलफल अगाडि बढाउन लागिपरेका छन् ।

प्रचण्डको प्रधानमन्त्रीको प्रस्ताव देउवाले मान्नसक्ने सम्भावना नभएको होइन । स्वयं प्रचण्डले पनि विगतमा आफूले नै देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको उल्लेख गरेका छन् । संसद पुनःस्थापनामा जोडबल गरेमा देउवाका लागि प्रधानमन्त्रीको ढोका खुल्ने सम्भावना पनि देखिएको छ । तर, देउवालाई पार्टीभित्र चुनावका लागि निकटस्थहरुले दबाब दिइरहेका छन् । संसद पुनस्थापनाको पक्षमा गएमा वरिष्ठ नेता रामचन्द्र पौडेलको लाइनको जीत हुनेतर्फ पनि देउवा सचेत छन् ।

नेकपा फुटेको अवस्थामा प्रतिनिधि सभा पुनःस्थापना हुँदा पुनः एक हुने र चुनाव टाढिएर आफ्ना लागि सुनौलो मौका गुम्नसक्नेतर्फ पनि देउवा सचेत रहेको बुझिएको छ । देउवा संसद विघटन भएर चुनावमा जाँदा पार्टीको महाधिवेशन पछाडि धकेल्न सकिने र चुनावमा राम्रो सफलता हासिल गर्न सकिने आँकलनका साथ बढ्न खोजेका छन् । यो सम्भावना देखेमा देउवा संसद पुनःस्थापनाको पक्षमा उभिने सम्भावना कम छ । उनी भित्री रुपमा ओलीसँग समिकरण गरेर अगाडि बढ्ने तयारीमा पनि छन् ।

विगतमा प्रचण्डले धोका दिएको बुझाई देउवाको छ । स्थानीय निकायको चुनावमा समिकरण बनाएर गएको र प्रतिनिधि सभा चुनावमा भने प्रचण्ड ओलीसँग मिल्न गएपछि देउवा आक्रोशित छन् । उनी प्रचण्डसँग विगतको घटनाका कारण असन्तुष्ट भएकाले पनि मिलेर गइहाल्ने पक्षमा छैनन् ।

प्रचण्डले नेकपाको आफ्नो समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीभित्र प्रणाली बचाउन मिलेर जानुपर्ने आवश्यकता औल्याएका छन् । यी तीन शक्ति मिलेमा ओलीको संसद विघटनसहितको चुनावी अस्त्र विफल हुने बुझाई प्रचण्डको छ । त्यसकारण पनि उनले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot