Logo

हेटौडाको डम्पिङ साइट व्यवस्थित नहुँदा वातावरण प्रदुषण



हेटौडा, ७ माघ । हेटौडा उपमहानगरपालिका क्षेत्रभित्रको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा फैलिएको दुर्गन्धका कारण वरपरको वातावरणीय प्रदूषण बढ्नुको साथै जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । हेटौँडा बजार क्षेत्र नजीक डम्पिङ साइट रहेकाले बजारको सौन्दर्यमा समेत असर परेको व्यापक गुनासो पाइएको छ ।

वन विज्ञान अध्ययन संस्थानको पश्चिम तथा उत्तरपट्टीको वन क्षेत्र र राप्ती खोला नजिकैमा फोहर राख्ने डम्पिङ साइटका कारण राप्ती खोला तथा आसपासका बस्ती समेतमा समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ । डम्पिङ साइटमा पटकपटक हुने आगलागीबाट उत्पन्न वायु प्रदूषणले स्थानीयवासी थप मारमा परेका छन् ।

बजारभित्रका घर, होटल, पसल तथा उद्योग व्यवसायबाट फोहर सङ्कलन गरी थुपारिएको ठाउँमा आगलागी हुँदा बजार क्षेत्रसम्म दुर्गन्ध फैलिने गरेको छ । डम्पिङ साइटबाट निस्कने फोहरको दुर्गन्ध तथा प्रदूषणले उपमहानगरपालिका–११ स्थित सिमलटारको एक हजार ५०० घरधुरीलाई प्रत्यक्ष असर परेको बताइएको छ । सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले त्यहाँबाट डम्पिङ साइट हटाएर बस्तीभन्दा टाढा लैजानु पर्ने बताउछन्।

त्यसैगरी पटकपटक डम्पिङ साइटमा हुने आगलागीबाट निस्कने प्रदूषणले न्यूरेनी, सिमलटार, चाइना क्वाटर, डागङ्डुगे, थानाभञ्याङ नयाँबस्ती १४ घरे, कर्रा, भूटनदेवी मन्दिर टोल, वन क्याम्पसलगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको जनगुनासो रहेको छ । साथै आगलागीले गर्दा त्यहाँका बस्ती नै जोखिममा रहेको बताइएको छ । डम्पिङ साइट बजार एवं बस्ती नजिकै भएकाले त्यसलाई अन्यत्र सानुपर्ने न्यूरेनीका समाजसेवी रामप्रसाद भण्डारीको भनाइ रहेको छ ।

यसैगरी भुटनदेवी मन्दिर टोल विकास संस्थाका स्थानीयवासी सविन माक्तानले डम्पिङ साइटलाई व्यवस्थित गरेर तारबार गर्नुपर्ने बताएका छन् । फोहरमा हुने आगलागीलाई नियन्त्रण नगरेमा त्यहाँबाट निस्कने प्रदूषणले बालबालिका तथा वृद्धवृद्धाको श्वासप्रश्वास र स्वास्थ्यमा असर पर्ने उनको भनाइ छ । शहरीकरण, बढ्दो जनसङ्ख्या र बसाइँसराइले गर्दा उपमहानरपालिकाबाट उत्पादित फोहरको परिणाम दिन प्रतिदिन बढ्दै गएको छ ।

केही दिनअघि डम्पिङ साइटमा तीन दिनसम्म आगलागी हुँदा हेटौँडा उपमहागनगर पालिकाको दमकले आगो नियन्त्रण गर्नु परेको थियो । प्रदूषित धुवाँ र गन्ध आउने कारणले कोठा थुनेर बस्दा समेत घरमा बस्ने अवस्था थिएन । यो समस्या पटकपटक आइरहेको हेटौडाका बासिन्दाको गुनासो छ भने हेटौँडा उपमहानगरपालिकालाई पनि फोहरको दिगो व्यवस्थापन कसरी गर्ने चिन्ताले सताएको छ ।

वन विज्ञान अध्ययन संस्थानको १५८ बिघा जमीनमा कार्यालय भवन सङ्ग्रहालय, खेल मैदान, होस्टल र क्वाटर तथा अन्य भागमा वन जङ्गल रहेको छ । हाल त्यसको पछाडिपट्टी वन क्षेत्रमा डम्पिङसाइट अर्थात हेटाँैडाको फोहर फाल्ने गरिएको छ । त्यो डम्पिङसाइटसँगै राप्ती खोला बगेको छ ।

डम्पिङ साइटमा राख्ने फोहर पानी, सडेगलेका अन्नपात, लुगा कपडा, प्लाष्टिक र अन्य मरेर सडेगलेका जीवजन्तुको हाडखोरलगायत अन्य प्रदूषित सामग्रीले खोलाको अवस्था सङ्कटमा परेको पाइएको छ । होहरले खोलाको पानी पानी प्रदूषित भएको छ । पानीको प्रदूषणले कृषिबाली, खानेपानी तथा नुहाउनेलगायतको काममा समस्या भएको छ । प्रदूषणलाई नियन्त्रण गर्न डम्पिङ साइटलाई खोलाभन्दा टाढा लैजानुपर्ने स्थानीयवासी हरिप्रसाद रिजालले बताउनुभयो । तत्कालै सार्ने पर्र्ने अवस्था नभए त्यसलाई व्यवस्थित गर्नु पर्ने उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्