काठमाडौं, ७ माघ । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ परेका छन् । कास्की पोखरा हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल नुर्फिन, नगद १८ हजार रुपैयाँ र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने बर्दिया ठकुरद्वार नगरपालिका–८ घर भएका २९ वर्षीय मिन रानाभाट र बाँके कोहलपुर नगरपालिका-१७ घर भएका २७ वर्षीय बिशाल राना मगर रहेका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले मिन रानाभाटको कोठाबाट उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरबाट ७० ग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँमा होटल व्यवसाय गर्ने ४१ वर्षीय देबेन्द्र बहादुर कठायतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनको साथबाट उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।
यसैगरी, पर्सा वीरगंज रजतजयन्ती चोकबाट २ सय ३१ पीस नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सोही महानगरपालिका–९ बस्ने १३ वर्षीय बालकलाई प्रहरीले मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा चेकिङमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी ती बालकलाई पक्राउ गरेको बताएको छ । साथै मकवानपुर बागमी गाउँपालिका-६ बस्ने २२ वर्षीय दिपक पोख्रेलले ती बालकलाई उक्त लागूऔषध बोक्न लगाएको खुल्न आएपछि दिपकलाई समेत प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।