Logo

देउवा निवासमा कांग्रेस नेताहरुको भेला, प्रदेश १ र बाग्मती प्रदेशको सम्बन्धमा केन्द्रीय कमिटीबाट निर्णय गर्ने



काठमाडौं, ७ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले ओली पक्षधर नेकपासँग सहकार्य गर्न नहुने धारणा राखेका छन् । बागमती र प्रदेश १ सरकारका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवा निवासमा आयोजित भेलामा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

सभापति देउवाले प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईलाई सहयोग गर्ने र बागमती प्रदेशको सवालमा भने आफ्नो पार्टीका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाईनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल अघि बढेको ब्रिफिङ गरेका थिए । तर, छलफलमा सहभागी वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल कुनैपनि निर्णय नलिन सभापति देउवालाई आग्रह गरेका थिए ।

उनकाअनुसार भेलामा सहभागी अधिकांश नेताले ओली प्रतिगमनकारी भएकोले उनीसँग सहकार्य गर्नु कांग्रेसको लागि ठूलो भुल हुने र पार्टीले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने धारणा राखेका थिए । आजको बैठकमा ठोस सहमति नभएपछि पार्टीको माघ १३ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट ठोस निर्णय गर्ने वरिष्ठ नेता पौडेलले पत्रकार ऋषि धमलालाई जानकारी दिए । प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीहरु शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाको दाहाल–माधव पक्षले अविश्वास प्रस्ताव पेश गरेको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्