Logo

ब्याज अनुदान कार्यक्रमः धितो राख्न नसक्दा वञ्चित भए किसान



सुर्खेत, माघ ८ । कर्णाली सरकारले किसानका लागि ल्याएको ब्याज अनुदान कार्यक्रमबाट निम्न वर्गका कृषकले लाभ लिन सकिरहेका छैनन् । अधिकांश किसानले धितो राख्न नसक्दा ब्याजमा अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत झन्झट, प्राविधिक ज्ञानको कमी लगायत समस्याले कठिनाइ हुने गरेको छ ।

ऋण लिन बैंकमा अनिर्वाय रूपमा धितो राख्नुपर्ने भएपछि यसको लाभ आफूहरूले भन्दा पनि धनी र हुनेखाने व्यक्तिले मात्रै लिने गरेको गुनासो किसानहरूको छ । ‘सरकारले ब्याजमा सहुलियत दिए पनि हामी धितो राखेर ऋण लिन सक्दैनौं,’ वीरेन्द्रनगर–लाटिकोइलीका कृषक सुमित्रा चौधरीले भनिन्, ‘त्यसैले सरकारले ल्याएको ब्याजमा अनुदान कार्यक्रमबाट अधिकांश ठूला लगानीकर्ताले मात्रै फाइदा लिन्छन् ।’

किसानसँग धितो राख्ने सम्पत्ति नहुने भएकाले ऋण लिएर कृषि व्यवसाय प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार कतिपय किसानले अनुदान पाए पनि कागजात मिलाउन नसक्दा अप्ठ्यारोमा परेका छन् । नाम मात्रको कृषि व्यवसाय गरेका कतिपयले शहर बजारका घरघडेरी, जग्गा धितो राखेर सहुलियत ब्याजको ऋण सजिलै लिने गरेको उनको भनाइ छ ।

यद्यपि सोझै अनुदान दिँदा रकम दुरुपयोग भएको पाइएपछि वास्तविक किसानले नपाउने अवस्थाको अन्त्य गर्न कृषिका लागि ऋणमा ब्याज अनुदान दिने कार्यक्रम ल्याइएको कर्णाली प्रदेश सरकारले बताएको छ ।

उक्त कार्यक्रम अन्तर्गत किसानले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न कृषि विकास बैंकबाट एक करोड रुपैयाँसम्मको ऋण लिँदा लाग्ने ९ प्रतिशत ब्याजमध्ये ७ प्रतिशत प्रदेश सरकारले तिरिदिन्छ भने किसानले २ प्रतिशत मात्रै तिरे पुग्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अढाई अर्ब रुपैयाँ ऋण लगानी गर्दा ब्याज तिर्न पुग्नेगरी यो वर्ष ७ करोड रुपैयाँ विनियोजन गरेको बताएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्