Logo

प्रचण्डप्रति व्यङ्ग्य गर्दै ओलीले भनेः लड्ने बेलामा अरुका छोराछोरी, तर मार्ने बेला आफ्ना छोराछोरी



काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं युवालाई लडाकु बनाएर जीवनमाथि खेलवाड गरेको बताएका छन् । प्रचण्डले लड्ने बेलामा अरुका छोराछोरीलाई प्रयोग गरेर लाभ लिने बेलामा आफ्नो परिवार र आफन्तलाई मात्र हेरेको आरोप लगाएका छन् ।

‘लड्ने बेलामा अरुका छोराछोरी, तर मार्ने बेला आफ्ना छोराछोरी,’ आफू निकट प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा ओलीले आज भने,‘जसले उहाँलाई लडेर यो स्थानमा पुर्यायो तीनका छोराछोरी अहिले छन् कि छैनन् ?’ यसअघि ऋषि धमलासँगको अन्तवार्तामा प्रचण्डले ओली निसन्तान हुनु उनको दोष नभएको र आफ्ना सन्तान भएको आफ्नो दोष नभएको भन्दै व्यङ्ग्य गरेका थिए । ओलीले भने,‘आफ्ना छोराछोरी विदेश पढ्न पठायो अर्काका छोराछोरीलाई लड्न लगायो ।’

ओलीले छोरीलाई मतपत्र च्यातेर चुनाव जिताएको आरोप लगाउँदै भने,‘छोरी छन् मतपत्र च्यातेर जिताउनुपर्यो, ज्वाईं छन् घर किनिदिनुपर्यो ।’ आफूले देशभरका छोराछोरीलाई आफ्ना छोराछोरी ठानेको ओलीले बताए ।

पछिल्लो समय ओलीले प्रचण्डमाथि परिवारको स्वार्थमा मात्र काम गरेको आरोप लगाउँदै आएका छन् । जवाफमा प्रचण्डले आफ्ना सन्तानहरुले राजनीतिमा निकै संघर्ष गरेको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot