Logo

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस?



काठमाडौं, माघ ९ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

कांग्रेसले पहिलो चरणमा गत १३ पुसमा १६५ वटै प्रतिनिधिसभातर्फका निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेकामा दोस्रो चरणअन्तर्गत २५ पुसमा ३३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा ७५३ वटै स्थानीय तहका पालिकाहरू तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ ।

तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो ।

पार्टीको संस्थापन पक्षका नेताहरू आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरू भने संविधानमाथि नै प्रश्न उठेकाले पहिले संविधान जोगाएर मात्रै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै आएका छन् ।

‘संसद् विघटनविरुद्धको आन्दोलनले नेता कार्यकर्ताहरूमा उत्साह थपेको छ । पार्टीलाई आन्दोलनले ऊर्जा दिएको छ र संसद् पुनस्र्थापना नहुँदासम्म आन्दोलन गरेरै अघि बढ्नुपर्छ भन्ने राय आन्दोलनबाट आएको छ,’ कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्, ‘कांग्रेसले आन्दोलनबाटै अब संविधानलाई बचाउनुपर्छ ।’

तर सभापति शेरबहादुर देउवाले भने प्रदर्शनपछिको विरोधसभालाई सम्बोधन गर्ने क्रममा संसद् पुनस्र्थापनाका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले कांग्रेसले सो विषयमा अदालतलाई ‘यसो गर, उसो गर नभन्ने’ धारणा व्यक्त गर्दै आइरहेका छन् । उनले आन्दोलनबाटै निर्वाचनको तयारी गरिने समेत बताउँदै आइरहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्