नाम : प्रेमनाथ अधिकारी
जन्मस्थान : तेह्रथुम तम्फुला
पिताः पद्मलाल अधिकारी माताः गोमा रिमाल अधिकारी
प्रथम प्रकाशित रचना : फर्किन् मेरी आमा (गीति एल्बम)
प्रकाशित कृति : विभिन्न पुस्तकमा लेख, विभिन्न महत्वपूर्ण कार्यक्रममा गीतलेखन तथा रेकर्ड अनि सन्देशमूलक गीतहरु ।
कसबाट र कसरी प्रभावित हुनुभयो ?
विक्रम सम्वत् २०३२ मा सिंहवाहिनी माध्यमिक विद्यालय म्याङलुङमा कक्षा सातमा अध्ययन गर्दा गुरु तोयनाथ भट्टराईले पहिलोपटक गीत गाउने अवसर प्रदान गर्नुभयो– त्यही नै मेरो पहिलो प्रेरणादायी समय बन्यो ।
कसरी बढिरहेको छ त लेखन कार्य ?
संगठनको र संस्थानको जिम्मेवारी पूरा गर्दै सानातिना लेख लेख्ने कार्य चलिरहेको छ । म लोकगीत मन पराउने र गाउन पनि रहर गर्ने भएकोले जनताका गीत र लोकगीतको संरक्षणमा बढी नै लागिपरेको छु । त्यसको अतिरिक्त एउटा उपन्यास लेख्ने काममा पनि लागेको छु । केही समयपछि प्रकाशन गर्दै छु ।
वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
मैले आफैं टाइप गरेर लेख्ने काम गरिरहेकोले टाइपको गति ढिलो हुँदा धेरै समय लागेको छ । तर टाइप पनि सिकिने भएकोले मज्जा लागिरहेको छ । समयको अभाव खड्किरहेको छ । मलाई धेरै सन्तुष्टिचाहिँ मिलेको छैन ।
कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अबको मेरो दोस्रो गीति एल्बमको तयारी भइरहेको छ भने पहिलेको एल्बमको छायाङ्कन गर्ने तयारी गर्दैछु । तर खर्चको कारण ढिलो हुने सम्भावना छ । उपन्यास छपाइमा पुग्न लागेको छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
कुनै पनि राष्ट्रको पहिचान भनेको त्यहाँको सामाजिक परिवेश, प्रकृति तथा संस्कृति पनि हो । संस्कृतिलाई प्रचारप्रसार गर्ने र दस्तावेजिकरण गर्ने काममा साहित्यकार र कलाकारको ठूलो योगदान रहन्छ । साहित्यकार, कवि, कलाकार, संगीतकार, गायक आदिमार्फत नै मुलुकको संस्कृति झल्काउन सकिने भएकोले राष्ट्रले यस्ता स्रष्टालाई प्रोत्साहन गर्नुपर्छ । नेपालमा विभिन्न शीर्षकमा सरकारको तर्फबाट पुरस्कार र सम्मानको व्यवस्था मिलाइएको छ । यो अझै कम भएको छ । कृति छपाइमा सहजीकरण गरिदिनु अझ राम्रो हो भन्ने लाग्छ ।
तपाईंको साहित्यिक आदर्श के हो ?
साहित्य लेखनमा सरल शव्दको संयोजन, मिठो शैली, लोपोन्मुख शव्दको संरक्षणका साथै आगन्तुक शव्दको उचित प्रयोगलाई जोड दिइएको हुनुपर्छ जस्तो लाग्छ । मचाहिँ प्रयत्न गरिरहेको छु । म पहाडको कुनाकाप्चा र गाउँले जीवनका दुखसुखका कुरामा धेरै रमाउछु । मेरो लेखनशैली धेरैलाई मन नपर्न सक्छ तर म ठेट नेपाली शव्दलाई धेरै माया गर्छु उखानटुक्का बीच÷बीचमा घुसाउन पाएँ भने त मलाई सारै आनन्द लाग्छ । भाषा र साहित्यको सेवा गर्नुपर्छ भन्ने लाग्छ । तर मेरो भने केही ढिलो भइरहेको अवस्था छ । परिवार, समाज र सृजना साथसाथै जाँदाको मज्जा बेग्लै हुन्छ जस्तो लाग्छ ।
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
धर्तीमा मानिस भएर जन्म लिएकै दिनदेखि मृत्युसम्म मानिस सन्तुष्ट हुने प्राणी नै हैन । जीवन सिकाइ हो र सिकाइ कहिले पनि पूर्ण हुँदैन । सिकाइ नै शिक्षा हो, मृत्युवरण गर्नु पनि सिकाइ हो । तर, दुर्भाग्य त्यो सिकाइले अन्तिम रूप लिइदिने भएकोले मानिस फर्किदैन । त्यस्तै मलाई पनि मेरो सृजनशील क्षमता बढोस् भन्ने नै लागेको छ । पूर्ण रूपमा नभए पनि फर्किन् मेरी आमा भन्ने प्रथम एल्बम प्रकाशन भएपछि चाहिँ खुसीले ‘भुइँमा न भाँडामा’ चाहिँ भएको सत्य हो ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
सबैभन्दा खुसीको कुरा भनेको त्रिभुवन विश्वविद्यालयले नेपाली विषयमा उपल्लो स्तरसम्म अध्ययन सुरु गरिएपछि साहित्य लेखनले फड्को मारेको हो भन्ने लाग्छ । समाजमा छरिएर बसेको साहित्य पहुँचको आधारमा मात्र बाहिर देखा पर्दथ्यो । कैयौं सृजना र साहित्य अहिले पनि समाजमा पाण्डुलिपिमै सडेर गइरहेका छन् । धेरै सृजना कला अनि गलाका धनीको अभाव र पहुँचको कमीले खेर गएको अवस्थामा केही प्रविधि तथा व्यवस्थाको झिनो सहजताका कारण सृजनाहरु क्रमशः बाहिर देखा परिरहेका छन्– यो सुखद कुरा हो भन्ने लाग्छ ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
सबै साहित्य सत्यतथ्यमा नै आधारित त हुन सक्दैनन् नि । त्यसमा काल्पनिकता त हुने भयो । सकेसम्म आफ्नो समाज र माटोको पहिचान बोकेको नै हुनु राम्रो हो जस्तो लग्छ ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
पहिलो कुरा त अध्ययन नै हो । कार्यले सिकाइमा सुधार आउने हुँदा अध्ययनले पनि अघि बढ्ने प्रेरणा दिन्छ । अर्को कुरा सुनेर, देखेर र घटनाक्रमले पनि प्रेरणा दिन्छ ।
तपाईंको लेख्ने सीमित समय छ कि ?
त्यस्तो निश्चित समय छैन । आवश्यकताअनुसार लेखन कार्य अघि बढाएकै छु ।
गीत र संगीतको पाटोमा के भन्न चाहनु हुन्छ ?
करिब तीन सय वर्षपहिलेको भुरेटाकुरे राज्यलाई एकीकृत गरेर सिङ्गो नेपाल त बन्यो तर भावनात्मक एकताको कमी भएको सत्य हो । वेला÷वेलामा विभिन्न शक्तिकेन्द्रले बिरोल्ने र बिथोल्ने प्रयत्नहरु अद्यावधि पनि छ । एकीकरण शास्वत सत्य हो, कलाकार र गायकहरु सत्यको पछि लाग्नुपर्छ । हाम्रो परम्परादेखिका देउसीभैलो, वालन, संगिनी, धाननाच, मारुनी हुड्केउली, चण्डीनाच, टप्पा आदिजस्ता लोकले मानेका भाकालाई जीवित राख्नुपर्दछ । लोकनाट्यलाई संरक्षण गर्नुपर्दछ । लोक संस्कृति नै हो राष्ट्रलाई एक सूत्रमा बाँध्ने महत्वपूर्ण कडी भन्ने मलाई लाग्छ । राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने सजिलो तरिका नै कलाकारिता हो ।
किन कोही कलाकार दलका झण्डामुनि ओत लाग्न चाहन्छन् ?
सीमित स्रोत र साधनका कारण अनि व्यक्तिगत पहुँचको दुरुपयोगको शिकार कलाकारितामा भित्रिनु दुर्भाग्य थियो । आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च खोज्नु कलाकारको बाध्यता हो । क्षमता प्रदर्शन गर्ने क्रममा राजनीतिक ओतमा पर्नुपर्ने नै भयो । निश्चित साँचोमा खुम्चिनु उसको बाध्यता पनि हो भने मुलुकमा अन्याय÷अत्याचारको विरोध र सत्यको भजन गाएर जनतालाई सचेतन गराउने काममा सक्रियतापूर्वक लागी मुलुकमा आमूल परिवर्तन गर्ने काममा सहभागिता जनाउन पाउनु कलाकारको गौरव पनि हो । यस्तो पुण्यकार्यमा संलग्न हुनुले झण्डामुनिको ओतमात्रै हो भन्ने लाग्दैन न कि सिङ्गो राष्ट्रियता बोकेको भन्ने लाग्छ । प्रस्तुति : जयराम सापकोटा