Logo

कांग्रेसमा जुटेन सहमति



काठमाडौं, माघ १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वाग्मतीसहितका प्रदेश सरकार संकटमा परेको अवस्थामा पार्टीको भूमिका के हुने भन्नेमा नेपाली कांग्रेस अन्योलमा देखिएको छ । पार्टीको भूमिका तय गर्न सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी, पूर्वपदाधिकारी र वाग्मती प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए । छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

सभापति देउवासहित संस्थापन पक्ष प्रदेशहरूमा देखिएको सत्ता संकटको समाधान स्थानीय आवश्यकता हेरेर प्रदेशकै पार्टी संयन्त्रलाई निर्णय गर्न दिने पक्षमा देखिएको छ । इतर पक्ष भने प्रदेश समिति नभएकाले केन्द्रले नै सत्ता साझेदारीबारे नीति बनाउनुपर्ने अडानमा छ ।

छलफलमा सभापति देउवाले जुन पक्षले कांग्रेसलाई मुख्यमन्त्री बनाउन सहयोग गर्छ उसैसँग मिलेर अघि बढ्ने बताए, जसलाई संस्थापन इतर पक्षले अस्वीकार गरेको छ । इतर पक्षले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध पार्टी सडकमा उत्रिएका बेला प्रदेशमा ओली समूहसँग मिलेर सरकार गठन गरी अघि बढ्न नसकिने तर्क गरेको छ ।

देउवाले समग्र रूपमा पार्टीको हित हुने गरी सोच्न आग्रह गरे पनि नेता रामचन्द्र पौडेलसहितका नेताले सभापतिसँग असहमति जनाएका हुन् । वाग्मती प्रदेशका संसदीय दलका नेतासहित अन्य नेतासँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरी गरी छलफल सकिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot