Logo

पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी



काठमाडौं, माघ ११ । उखु किसानले फेरि पनि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । वर्षौंदेखि चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकमको पूरा भुक्तानी नपाएको भन्दै उनीहरूले पुनः काठमाडौंमै आएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

बक्यौता रकम भुक्तानीको माग गर्दै उखु किसानले मङ्सिर २८ देखि काठमाडौंको माइतीघरमा करीब २ साता आन्दोलन गरेका थिए । उक्त आन्दोलनपछि पुस १३ गते उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो । २१ दिनभित्र उद्योगीले किसानलाई तिर्न बाँकी रहेको बक्यौता रकम उपलब्ध गराउने सहमति भएको थियो ।

सम्झौताको समयसीमा बितिसक्दा समेत उद्योगीले किसानलाई सम्पूर्ण रकम भुक्तानी गरेका छैनन् । बक्यौता रकम यथाशीघ्र भुक्तानी नगरिए आपूmहरू पुनः काठमाडौंमै आएर आन्दोलन गर्ने उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए ।

बक्यौता भुक्तानीका लागि सरकार र उद्योगीलाई दबाब दिन यतिबेला किसानले सम्बन्धित जिल्लाबाटै संघर्षका विभिन्न कार्यक्रम थालेका छन् । दबाबमूलक कार्यक्रम फागुन २१ सम्म चल्ने बताइएको छ । ‘उक्त समयभित्र पनि रकम भुक्तानी नभए काठमाडौंमै आएर आन्दोलन गर्नेछौं,’ रायले भने ।

सरकारी पक्षले भने किसानले उखु किसानले पुनः आन्दोलन गर्नु नपर्ने र जति सक्दो चाँडो बाँकी रकम भुक्तानी गराउने बताउँदै आएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पनि मन्त्रालयले जसरी पनि किसानको बक्यौता रकम भुक्तानी गराउने दाबी गरे ।

पुस १३ मा मन्त्रालयले किसानसँग सम्झौता गर्दा २१ दिनभित्र उद्योगीले रकम भुक्तानी नगरेमा सरोकारवाला निकायसँग समन्वय गरी कानूनी कारबाही अघि बढाइने बताएको थियो । तर अहिले मन्त्रालयले त्यसतर्फ चासो नदिएको आजको आर्र्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्