Logo

विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण



काठमाडौं, माघ ११ । वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल दर बढी भएपछि उक्त टेन्डरबाट प्राधिकरण बाहिरिएको हो ।

हाल प्राधिकरणले भारतबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा ९४ दशमलव १४ भारतीय रुपैयाँ० मा भारतीय विद्युत् किन्दै आएको छ । भारतमा पनि सोही दरमा विद्युत् विक्री गर्ने गरि प्राधिकरणले बोलपत्र पेश गरेको थियो । तर, अन्य कम्पनीहरूले त्यो भन्दा पनि कम दरमा विद्युत् उपलब्ध गराउने गरी बोलपत्र पेश गरेपछि प्राधिकरण बाहिरिएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रस्ताववित विद्युत् महसुलदर अन्यको तुलनामा बढी भएपछि प्रतिस्पर्धाबाट बाहिरिएको पुष्टि गरे ।

‘हामीले जुन दरमा विद्युत् उपलब्ध गराउँछौं भनेका थियौं । त्यो भन्दा पनि सस्तो दरमा नै विद्युत् उपलब्ध गराउने गरी अन्य कम्पनीहरूले बोलपत्र पेश गरेका रहेछन्,’ उनले भने, ‘यसरी हामीले प्रस्ताव गरेको महसुलदर बढी भएपछि उक्त प्रतिस्पर्धाबाट बाहिरिनुपर्‍यो ।’

विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल कम्पनीले भारतकै एनभीभीएन कम्पनीमार्फत टेन्डर आह्वान गरेको थियो । बीआरपीएल भारतको विद्युत्् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो । त्यसमा प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति लिएर २५ मेगावाट विद्युत् उपलब्ध गराउने गरी एनभीभीएनमार्फत बोलपत्र पेश गरेको थियो ।

विशेषगरी प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म ९४ महीना० २५ मेगावाट विद्युत् उपलब्ध गराउने गरी बोलपत्र पेश गरेको थियो । नेपालमा वर्षा याममा आवश्यकभन्दा बढी बिजुली उत्पादन हुन्छ । त्यो अवस्थामा खेर जाने बिजुली प्राधिकरणले भारतीय बजारमा व्यापारिक रूपमा नै विक्री गर्न खोजेको थियो ।

प्राधिकरणले पछिल्लो केही वर्षदेखि पावर एक्सचेन्जमार्फत भारतीय बजारमा विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेको थिएन । विदेशी बजारमा प्रतिस्पर्धात्मक रूपमा नै बिजुली निर्यात गर्ने प्राधिकरणको यो पहिलो प्रयास पनि थियो । तर, यस मामलामा प्राधिकरणको पहिलो प्रयास नै असफल भएको छ । यद्यपि, भारतीय बजारमा बिजुली विक्री गर्ने बाटो बन्द नै नभएको प्राधिकरणको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्