Logo

शालिग्राम कोरिडोरमा एकैसाथ दुई पुल निर्माण शुरू



तनहुँ, माघ ११ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने शालिग्राम कोरिडोरमा एकैसाथ दुई पक्की पुल निर्माण शुरू भएको छ । उक्त कोरिडोरअन्तर्गत ऋषिङ गाउँपालिकाका दुई खोलामा पक्की पुल निर्माण थालिएको हो ।

गण्डकी प्रदेश सरकारले शालिग्राम कोरिडोरलाई गौरवको योजनामा राखेर काम अगाडि बढाएको छ । यस वर्ष शालिग्राम कोरिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी–घिरिङ–देवघाट खण्डको २१ दशमलव ५ किलोमिटर सडक स्तरोन्नतिको काम दुई महीना अगाडि शुरू भइसकेको छ । घिरिङ गाउँपालिका–१ स्थित द्वपदी खोलामा पक्की पुल निर्माण थालिएको छ ।

कोरिडोर लोकमार्गमा पर्ने दुई खोलामा एकैसाथ पक्की पुल शिलान्यास गरी निर्माण शुरू गरिएको छ । ऋषिङ गाउँपालिका–४ र ५ लाई जोड्ने गरी ज्वालाखोलामा र ऋषिङ–५ को रूपटार र पिपलटार जोड्नेगरी लुम्दीखोलामा बन्ने पक्की पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार ज्वालाखोलामा २५ मिटर लामो र ८ दशमलव ४ मिटर चौडाको ओपन फाउण्डेशनको पुल बन्नेछ ।

आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । चार करोड २१ लाखको इस्टिमेट गरिए पनि तीन करोड २१ लाख एक हजार ६३७ मा ठेक्का लागेको छ ।

लुम्दीखोलाको पुल पनि ओपन फाउण्डेशनमै बन्नेछ । ५० मिटर लम्बाइ र ८ दशमलव ४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले पाँच करोड ५१ लाख ९२ हजार २४० मा ठेक्का सम्झौता गरेको ढुंगानाले जानकारी दिए । यो पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot