Logo

सिटिभिटिबाट अनुमति लिएको भन्दै ७३ लाख ९३ हजार ठगी गर्ने पक्राउ



कैलाली, ११ माघ । ठगी कार्यमा संलग्न फरार व्यक्ति पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारी ७३ लाख ९३ हजार ९ सय ९ रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रही फरार गौरीगंगा नगरपालिका–८ बस्ने ३४ वर्षीय राजाराम चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लम्कीचुहा नगरपालिका–९ धनचैयास्थित भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

चौधरीले सिटिभिटिबाट अनुमति लिएको भन्दै अनुमति विना नै गैरकानूनी रूपमा धनगढी उपमहानगरपालिका–८ स्थित संचालन गरेको मल्टिस्किल ईन्ष्टिच्यूट अफ टेक्नोलोजी प्रालिमा भर्ना लिई अध्ययन गराई अभिभावक तथा ईन्ष्टिच्यूटमा अध्ययनरत १ सय १८ जनालाई झुक्याई ४९ लाख २८ हजार ४ सय ९५ रुपैयाँ ठगी गरेको मुद्धामा जिल्ला अदालत कैलालीको २०७४ चैत १४ गतेको फैसालाले उनलाई २ महिना कैद र ३ लाख २८ हजार ४ सय ९५ रुपैयाँ जरिवाना भएको थियो ।

साथै २०७५ मङ्सिर ४ देखि मङ्सिर ७ गतेसम्म पटक पटक गरी सोही ईन्ष्टिच्यूटमा बिद्यार्थीहरूको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४ सय १४ रुपैयाँ ठगी फरार भएको तथा धनगढी बस्ने एक महिलालाई भारत बैंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रहरू त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउन भनि प्रलोभनमा पारी ५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धनाबाट खुल्न आएको प्रहरीले बताएको छ ।

साथै सोही कार्यमा संलग्न कैलालीको कैलारी गाउँपालिका–९ बस्ने ३३ वर्षीय शिव कुमार चौधरीलाई यसअघि माघ ५ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्