Logo

नेकपा (दाहाल-नेपाल समूह) द्वारा ओली निष्काशित



काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको स्थायी समिति बैठकले ओलीलाई कारबाही गर्दै निष्काशन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि ओलीलाई स्पष्टिकरण माग्दै बालुवाटारमा पत्र लगिएको थियो । तपाईंलाई किन कारबाही नगर्ने ? भनी विभिन्न अभियोगसहित ५ माघमा ओलीसँग स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण नआएपछि आज बसेको स्थायी समिति बैठकले कारबाही गर्दै निष्काशन गरेको हो ।

प्रवक्ता श्रेष्ठले ओलीलाई अध्यक्षबाट हटाएपछि पनि संविधान, लोकतन्त्र, देश र जनताविरुद्ध गतिविधि गरेको र स्पष्टिकरण सोध्दा पनि स्पष्टिकरण नदिएकोले पार्टी सदस्यताबाट हटाउने निर्णय गरिएको बताए । केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरी निष्काशन गरिएको उनको भनाई थियो ।

५ पौषमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । त्यसपछि ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय प्रचण्ड समूहले गरेको थियो । तर, ओली समूहले वैधानिक नेकपा आफूहरुको दाबी गर्दै प्रचण्डलाई कार्यकारी अधिकारबाट मुक्त गरिएको जनाएको छ । उसले सचिवालय, स्थायी र केन्द्रीय कमिटीको कसैलाई पनि हटाएको छैन । बरु केन्द्रीय कमिटी विस्तारको निर्णय गरेको छ । प्रवक्ताबाट भने नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ ।

यसैगरी, नेकपाको दाहाल नेपाल समूहले पार्टी केन्द्रीय कार्यालय सचिवमा गंगालाल तुलाधर र उपसचिवमा रोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।-तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot