Logo

३२.१२ प्रतिशतले बढ्यो जीवन बीमा व्यवसाय



काठमाडौं, माघ १२ । कोरोना भाइरसका महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा बीमाशुल्क संकलन ३२ दशमलव १२ प्रतिशतले बढेको छ । कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले गत चैतदेखि असाररसाउनसम्म नै जीवन बीमा व्यवसाय प्रभावित भएको थियो । तर, चालू आवको पुस मसान्तसम्म आउँदा जीवन बीमा व्यवसायमा उच्च सुधार देखिएको छ ।

बीमा समितिबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समितिका अनुसार पुस मसान्तसम्म उनीहरूले ६२ अर्ब ८५ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवमा उनीहरूले ४७ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

कुल बीमाशुल्कमध्ये २१ अर्ब ४ करोड प्रथम बीमाशुल्क (बीमा गर्दा पहिलोपटक बुझाइने किस्ता) रहेको छ । समितिका अनुसार प्रथम बीमाशुल्क संकलन भने ३७ दशमलव ५१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १५ करोड ३० लाख प्रथम बीमाशुल्क संकलन भएको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना संकटमा पनि जीवन बीमा व्यवसायमा राम्रो वृद्धि देखिएको बताए । ‘कोरोना महामारीले जीवन बीमामा जति असर पुग्ने अनुमान गरेको थियौं, त्यो अनुसार भएन,’ उनले भने, ‘शुरूका समयमा केही अप्ठ्यारो भए पनि अहिले जीवन बीमा व्यवसायले गति लिइसकेको छ ।’

विशेषगरी कम्पनीहरूले नयाँ प्रडक्ट ल्याउनु, कोरोनाका कारण बीमाको महत्व बढ्नुलगायत कारण व्यवसाय बढेको उनले बताए । साथै, कम्पनीहरूले परिस्थितिअनुसार व्यावसायिक योजना बनाएर काम गर्दा पनि व्यवसाय बढेको उनको भनाइ छ । ‘यहीअनुसार नै व्यवसाय बढ्दै गए चालू आवको अन्त्यसम्म जीवन बीमाबाट मात्र १ खर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन हुन सक्छ,’ उनले भने ।

यता, प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले पनि कोरोना महामारीका बीच व्यवसायमा राम्रो वृद्धि देखिएको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्