Logo

अधिकांश पालिकाका प्रशासनिक भवन भाडामा



पर्वत, माघ १२ । पर्वतका अधिकांश स्थानीय तहका प्रशासनिक भवन भाडामा सञ्चालन हुँदै आएका छन् । आफ्नै भवन नहुँदा स्थानीय तहले भाडाका लागि वार्षिक करोडौं खर्चनुपरेको छ ।

स्थापनाकालदेखि नै कुश्मा नगरपालिकाको प्रशासनिक भवन भाडाको घरमा छ । फलेवास नगरपालिकाले सिँचाइ कार्यालयको साँघुरो भवनमा कार्यालय चलाएको छ । जलजला गाउँपालिका, पैयुँ गाउँपालिका र मोदी गाउँपालिकाको भवन पनि भाडाकै घरमा छन् ।

जिल्लाका महाशिला गाउँपालिका साविक बालाकोट गाविसको भवनमा सञ्चालन भइरहेको छ । विहादी गाउँपालिकाले गतवर्ष प्रशासनिक भवन बनाएर कार्यालय चलाए पनि भवन निर्माण पूरा भएको छैन । जिल्लाका अधिकांश स्थानीय तहका प्रशासनिक भवन भाडामा रहे पनि वडा कार्यालयका भने नयाँ भवन बन्न थालेका छन् । चालू आवमा विहादी गाउँपालिकाको वडा नं। २, ४ र ६ को निर्माण भइरहेको छ । वडा नं ३ र ५ मा अघिल्लो वर्ष निर्माण सम्पन्न भइसकेका छन् ।

जिल्लाको मोदी गाउँपालिकामा गतवर्ष वडा नम्बर ६, ३ र ४ को वडा भवन निर्माण भएको थियो भने चालू आवमा वडा नं २ र ७ को वडा भवन बनाउन टेण्डर आह्वान गरिएको छ । मोदीको वडा नम्बर १, ८ र ५ को अर्को आर्थिक वर्ष निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्