Logo

१२ स्थानीय तहमा २ अर्ब ८ करोडको बजेट



काठमाडौं, माघ १२ । सरकारले कोरोना भाइरसबाट प्रभावित नागरिकहरुलाई स्वरोजगार बनाउने कार्यक्रम अगाडि सारेको छ । सरकारले पहिलो चरणमा १२ वटा जिल्लाका विभिन्न स्थानीय तहमा रोजगारीको कार्यक्रम सञ्चालन गर्न लागेको हो । कोरोनाका कारण लाखौं नागरिकले रोजगारी गुमाएको अवस्थामा सरकारले स्थानीय तहमै रोजगारी सृजना गर्ने कार्यक्रम अगाडि बढाएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत नेपाल शहरी शासकीय क्षमता पूर्वाधार विकास आयोजनाको समन्वयमा कार्यक्रम अगाडि बढ्न लागेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच भएको सहमतिअनुसार १२ जिल्लाका विभिन्न स्थानीय तहमार्फत कार्यक्रम अगाडि बढाउन लागिएको नेपाल शहरी शासकीय क्षमता पूर्वाधार विकास आयोजनाका प्रमुख परीक्षित कडरियाले बताए ।

स्वीकृत कार्यक्रमअन्तर्गत पाँचथर जिल्लाको फिदिम, सिराहको गोलबजार, सर्लाहीको हरिवन, दोलखाको भीमेश्वर, नवलपरासी पश्चिमको कावासोती, पर्वतको फलेवास, अर्घाखाँचीको सन्धिखर्क, दाङको लमही, जाजरकोटको भेरी, रुकुमपश्चिमको मुसिकोट, डडेलधुराको अमरगढी र कैलालीको लम्किचुहा नगरपालिकामा कार्यक्रम सञ्चालन हुनेछ ।

सरकारले स्वीकृत गरेको कार्यक्रम आयोजनाको समन्वयमा सम्बन्धित स्थानीय तहले नै कार्यक्रम कार्यान्वयन गर्नेछ । रोजगारीको कार्यक्रम सृजना गर्नका लागि अर्थ मन्त्रालयले १२ वटा स्थानीय तहका लागि २ अर्ब ८ करोड रुपियाँ बजेटसमेत पठाउनेछ । यस आर्थिक वर्षबाट शुरु हुने कार्यक्रमअन्तर्गत तीन वर्षको अवधिमा उक्त बजेट खर्च हुनेछ । आयआर्जनको अवस्था उकास्ने र स्थानीयस्तरमै रोजगारी सृजना हुने कार्यक्रम सञ्चालन गर्ने उद्देश्य सरकारले लिएको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्