Logo

ओलीको अहंकार वरिष्ठ अधिवक्ताको अपमान



काठमाडौं, माघ १२ । उमेरले ९४ वर्ष टेकेका, दुईपटक नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भइसकेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले २०१४ सालदेखि वकलात गर्दै आएका छन्। उनी न्याय क्षेत्रका सर्वमान्य कानुनविद् पनि मान्छिन्। वकालत क्षेत्रमा लामो समय बिताएका भण्डारीलाई कानुनविद्ले ‘गुरुदेव’ भनेर सम्बोधन गर्छन्।

यही माघ ७ गते उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बहस गर्दै पुनस्र्थापनाको जिकिर गरेका थिए। बहसका क्रममा उनले भनेका थिए, ‘प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर जनताको सर्वोच्चतालाई आघात पार्न मिल्दैन।’ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएसँगै उनी दैनिक सर्वोच्च अदालत गइरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सो मुद्दाको सुनुवाइ हुँदा पनि उनले छोटो बहस गरेका थिए।

‘उहाँलाई हामी सबैले गुरुदेव भनेर चिन्छौं,’ वरिष्ठ अधिवक्ता डा शंकरकुमार श्रेष्ठले भने। न्याय क्षेत्रले गुरुदेव मान्ने भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बाजे वकिल’ भनेर होच्याए। ओलीले शुक्रबार एक सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘वकिलहरूले गफ पिटेको पिटैछन्, हुँदाहुँदा एकजना बाजे वकिललाई समेत तमासा गर्न लगेछन्।’

प्रतिनिधिसभा विघटनबारे अदालतमा भइरहेको बहसलाई प्रधानमन्त्रीले ‘तमासा’ भनेकोमा आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा प्रश्न उठाएका छन्। इजलासमा त्यसबारे प्रश्न उठाउँदै त्रिपाठीले भने, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसेका हौं ?’ जबाफमा प्रधानन्यायाधीश जबराले बाहिर भइरहेका कुराबारे चर्चा नगर्न भने।

अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाका अनुसार भण्डारी तिनै वकिल हुन्, जसले झापा आन्दोलनका बेला ओलीविरुद्ध लागेको ज्यान मुद्दाको बहस गर्न धनकुटासम्म पैदल यात्रा गरेका थिए। ‘झापा काण्डमा संलग्न भएको भन्दै त्यतिबेलाको सरकारले रिद्धि मानन्धर बज्राचार्यको नेतृत्वमा विशेष अदालत गठन गरेर ओलीसहितका नेतालाई मुद्दा लगाएको थियो। ओलीलाई १४ वर्ष जेलसजाय तोकिएको थियो। त्यसको विरोधमा बहस गर्ने भण्डारी थिए। मसँग त्यसको कागजात पनि छ,’ थापाले भने। तर ओलीले तिनै भण्डारीलाई ‘तमासा’ देखाउन अदालत लगिएको भन्दै खिसिट्युरी गरेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot