Logo

नेपाल–चीन व्यापारमा अवरोध



काठमाडौं, माघ १२ । २०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रूपमा सञ्चालनमा आउन सकेका छैनन्। चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा ‘शून्य कोभिड’को नीति अवलम्बन गरेको छ। त्यसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन्। यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ।

महासंघका अध्यक्ष नरेश कटुवालले १५ महिनादेखि चीनले कुनै न कुनै बहानामा तातोपानी र रसुवा नाकामार्फत हुने आयात–निर्यात व्यापारमा अवरोध पु¥याएको बताए। ‘हामीले यो अवरोधलाई अघोषित नाकाबन्दीका रूपमा बुझ्नुपर्छ’, अध्यक्ष कटुवालले भने, ‘चीनको नीतिका कारण हामी व्यवसायी सडकमा आइपुग्यौँ। करोडौं घाटा व्यहोरिसक्यौँ।’

विभिन्न दलका नेता, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको व्यवसायीको गुनासो छ।

कटुवालका भूकम्पमा क्षतिग्रस्त बनेको मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि आंशिक रूपमा खोलिएको तातोपानी नाका विभिन्न बहानामा दर्जनौं पटक अवरुद्ध पारिएको छ। दैनिक सय कन्टेनर आउने उक्त नाका पुनः खुले पनि १० भन्दा बढी संख्यामा कन्टेनर नआएको व्यवसायीको भनाइ छ। तातोपानी नाका पटक–पटक अवरुद्ध भएका कारण व्यवसायीले वैकल्पिक मार्गका रूपमा केरुङ–रसुवागढी नाका प्रयोग गर्न थालेका हुन्।

‘तर, पछिल्लो समय केरुङ–रसुवागढी नाका पनि व्यवसायीका लागि अभिशाप नै बन्यो’, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘नेपाली व्यवसायीको हकमा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध पारियो।’

भूकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झन्डै ४ वर्षपछि ०७६ जेठ १५ गतेदेखि पुनर्निर्माणपश्चात् तातोपानी नाका खुला गरेको थियो। त्यसपछि पनि केही समय खुल्ने र केही समय बन्द भइराख्ने उक्त नाका कोभिड १९ को संक्रमणका नाममा अघिल्लो माघदेखि बन्द गरियो। त्यसपछि कात्तिक १५ गतेदेखि सामान्य रूपमा खुलाइएकामा मितेरी पुल मर्मतका नाममा जनवरी २१ देखि फेब्रुअरी ८ सम्म बन्द गरिएको छ।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्