Logo

ओली र प्रचण्ड मध्ये एकले सुर्य चिन्हको आशा नमारेसम्म ‘कानुनत फुट’ असम्भव



काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि कानुनी रुपमा अझै एक छ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल पक्षधरको फरक दाबी नमान्ने गरी पार्टी फुटलाई मान्यता नदिएपछि नयाँ परिस्थिति विकास हुन लागेको हो ।

अब नेकपा कानुनी रुपमा अझै एक रहेको स्पष्ट भएको छ । राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुट्न नमिल्ने अवस्थाबारे विगतमा पनि उल्लेख हुँदै आएको थियो । ऐन परिवर्तन गरेमात्र सम्भव हुने देखिन्छ । जुन प्रधानमन्त्री केपी शर्मा ओलीबाट मात्र सम्भव रहन्छ ।

नेकपा फुट्न नमिल्ने अवस्था बनेपछि नेकपाको ओली र प्रचण्ड माधव पक्षको अस्तित्वबारे समेत आँकलन गर्न थालिएको छ । ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई नै वैधानिक मान्न सकिने निर्वाचन आयोगको निर्णय देखिन्छ । यी दुई फुटेर गरेका निर्णयलाई मान्यता दिइएको छैन ।

अब ओली र प्रचण्ड कि त नेकपाभित्र द्वन्द्व या मिलेर रहनुपर्ने वाध्यात्मक अवस्था छ कि त दुई मध्ये एकले सुर्य र नेकपाको आशा मारेर अर्को पार्टी गठनमा लाग्नुपर्ने वाध्यकारी अवस्था छ । तर, दुवैले सुर्य चिन्ह पाउने लक्ष्य राखेका छन् । नेकपा छाड्ने पक्षमा देखिदैनन् । यसकारण पनि नेकपा विभाजनपछिको लडाईं पेचिलो बन्दै गएको छ ।

केपी शर्मा ओली सुर्य चिन्ह रहेको तत्कालिन नेकपा एमालेका अध्यक्ष थिए । एकतापछि मात्र उनी नेकपाका अध्यक्ष बने । प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष थिए । उनी एकतापछि सुर्य चिन्ह रहेको नेकपाको अध्यक्ष बने । प्रचण्डमाथि नेकपा एमालेमाथि कब्जा जमाउने रणनीति अपनाएको आरोप नलागेको होइन । अहिले उनले सुर्य चिन्हमा अडान कसेर पूर्व एमालेका प्रभावशाली नेताहरुलाई पनि साथमा ल्याएपछि आरोपमा बल पुगेको छ ।

प्रचण्डले भाषणहरुमा सुर्य चिन्ह पनि आफूहरुको भएको दाबी गरेका छन् । यसले अबको लडाईं सुर्य चिन्हका लागि हुने निश्चितप्रायः छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot