Logo

अधिवक्ता भण्डारीले भने – ‘के म तमासे हो र?’



काठमाडौं, माघ १३ । वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘आफू तमासे हो र?’ भन्ने प्रश्न सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा राखेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ हुँदाहुँदै सोमबार वरिष्ठतम अधिवक्ता भण्डारीले भने, ‘के म तमासे हो र?’ सो प्रश्न सोध्नुअघि उनी कुर्सीमा बसिरहेका थिए ।

प्रधानमन्त्री ओलीले तीन दिनअघि ‘एक जना बाजे वकिललाई तमासा देखाउन संवैधानिक इजलासमा बहस गर्न लगेछन्’ भन्ने टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीको सो टिप्पणीपछि कानुनसँग सम्बन्धित निकायहरुले प्रधानमन्त्रीको विरोधस्वरुप विज्ञप्ति जारी गरेका थिए ।

वरिष्ठतम अधिवक्ताले सो प्रश्न राखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सो विषयमा प्रवेश नगरौं भनी जवाफ दिएका थिए । वरिष्ठतम अधिवक्ता भण्डारीले ८ दिनअघि नै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्दै इजलासमा बहस गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनका पक्षमा विगत ८ दिनदेखि लगातार सुनुवाइ भइरहेको छ ।

सोमबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीसँग दुईथरी संविधान भएको उल्लेख गरेका छन् । एउटा राज्यको संविधान र अर्को आफूलाई जे मन लाग्यो सो गर्नका लागि तयार भएको गरी दुईवटा संविधान प्रधानमन्त्रीसँग भएको व्यङ्ग्य वरिष्ठ अधिवक्ता शम्भु थापाले गरेका थिए ।

उनले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जनाए । यसैगरी अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्री ओलीले गलत मनसाय लिई प्रतिनिधिसभा विघटन गरेको आरोप लगएका छन् ।
प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको पक्षबाट सोमबारसम्म करिब ३० जना कानुन व्यवसायीहरुले बहस सकाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्