Logo

निर्वाचन आयोगको निर्णयप्रति प्रधानमन्त्रीको टिप्पणी: ‘माधव नेपालको अध्यक्ष बन्ने सपना खत्तम’



दाङ, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै नेता माधवकुमार नेपालको अध्यक्ष बन्ने सपना अधुरै रहेको टिप्पणी गरेका छन्। आयोगले नेकपाको विभाजनलाई मान्यता नदिने निर्णय गरेको एक दिनपछि उनले यस्तो धारणा राखेका हुन्।

ओली पक्षीय नेकपा दाङले सोमबार लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले भने ‘केही मानिसहरु पार्टीबाहिर नगएर चौतारीमा बसेर म अध्यक्ष भएँ भन्दै बसेका छन् । त्यो पनि हिजो निर्वाचन आयोगले कोही अध्यक्ष सदस्य थपिएका छैनौं भनेर कोही कोहीको सडकबाटै अध्यक्ष बन्ने सपना खत्तम पारिदियो ।’

तत्कालीन एमालेको महाधिवेशनमा नेता नेपाल अध्यक्ष पदमा पराजित भएको स्मरण गराउँदै ओलीले भने– ‘अध्यक्ष हारेपछि मैलाई अध्यक्ष चाहियो भन्ने मेरो तरिका होइन, मेरो तरिका जनताको बीचमा जाने हो । त्यसैले म चुनाव घोषणा गरेर जनताको बीचमा आएको छु ।’ आफूहरु नै आधिकारिक नेकपा भएकाले निर्वाचन आयोगमा आधिकारिकता दाबी नगरेको उल्लेख गर्दै उनले प्रश्न गरे– ‘हामीले आधिकारिक भनेर दाबी गरेका छैनौं, हामी आधिकारिक छौं अनि पटकपटक किन दाबी गर्ने?’

‘दुई–चार जना मानिसहरु रेस्टुराँ र ब्यांकटमा बसेर बैठक गरे रे, केपी ओलीलाई पार्टीबाट हटाए रे । उनीहरु त केपी ओली यो धर्तीमा नरहे हुन्थ्यो भन्छन्, अध्यक्षबाट हटाएको हल्ला गर्नु के ठूलो कुरा भयो र?’, उनले थपे– ‘के त्यो सम्भव छ? उनीहरुले के भन्छन्, त्यसको अर्थ छैन ।’ पार्टी एकजुट रहेको दाबी गर्दै उनले कोही पनि भ्रममा नपर्ने बताए । आफूहरुले कसैलाई पनि पार्टीबाट ननिकालेकाले गल्ती महसुस गरेर फर्के राख्न तयार रहेको ओलीको भनाई छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्