काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विषयलाई देशभरि आन्दोलन चर्काउने विषयमा महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए । त्यसको विरुद्धमा नेकपा दाहाल–नेपाल समूह आन्दोलनमा छ । नेकपा दाहाल–नेपाल समूहमात्रै नभएर जसपा नेपाल पनि आन्दोलित छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने आन्दोलन चर्काउने वा सामान्य विरोध गरेकोजस्तो गरेर चुनावको तयारीमा होमिने भन्नेमा अन्यौलतामा देखिन्छ । सभापति शेरबहादृुर देउवाले भित्री रुपमा प्रधानमन्त्री ओलीको कदमलाई साथ दिँदै सहकार्य गरेर नै अघि बढ्नुपर्ने धार समातेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने ओलीले संविधान मिचेर गलत कदम चालेको भन्दै सशक्त आन्दोलनमा उत्रिनुपर्ने अडान लिएका छन् । पछिल्लो समय कांग्रेसमा आन्दोलन चर्काउने पक्षमा बहुमत देखिएको छ।
सरकार निर्लज्ज रुपमा प्रस्तुत भयो, तानाशाह अन्तिम समयमा यसैगरि बर्बराउने गर्दछन् : पौडेल
यो बीचमा प्रधानमन्त्री ओलीका कदमविरुद्ध बृहत्त आन्दोलन गरिनुपर्ने विषयमा सबै दलका नेताहरु सम्मिलित छलफल तथा अन्तरक्रिया भएका छन् । त्यसमा कांग्रेस नेताहरुले पनि सहभागिता जनाएका छन् । पछिल्लो समय सभापति देउवा पनि पौडेलको लाईनमा उभिनुपर्ने अवस्था सिर्जना भएको छ। बहुमत केन्द्रीय सदस्यहरु ओलीविरुद्ध आन्दोलनमा जाने पक्षमा देखिएपछि सभापति देउवा पौडेलको लाईनमा लतारिने देखिन्छ ।