Logo

ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित पक्राउ



झापा, १४ माघ । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित एकजना पक्राउ परेका छन् । ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक सामान सहित वस्तुहरु दमकका जितेन्द्र साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

दमक नगरपालिका–६ स्थित घरमा अवैध रुपमा ओरियन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न परिपुरक खाद्य वस्तुहरु भण्डारण गरी विक्रि वितरण तथा ओसार पसार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घरबाट विभिन्न किसिमका खाद्यान्न परिपुरक खाद्य वस्तुहरु फेला पारी बरामद गरेको जानकारी दिएको छ ।

थप अनुसन्धानको क्रममा उक्त खाद्य वस्तुहरु जितेन्द्र साह समेतले बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिबाट केही परिमाणका खाद्य वस्तुहरु खरिद गरी ल्याएको हुन सक्ने र ठूलो परिमाणका खाद्य वस्तुहरु भन्सार र राजश्व छली गरी ल्याएको भन्ने बुझिन आएको हुँदा संचालकहरुमध्ये जितेन्द्र साहलाई प्रहरीले पक्राउ गरी अन्य संलग्न व्यक्तिहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साथै बरामद भएका सामानहरुमध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको ३ हजार ३ सय ५८ बट्टा समानहरुको बिल भएको र २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँको ९ हजार ९ सय ४३ बट्टाको बिल नभएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको साहलाई बरामद सामानहरु सहित थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा पठाइने जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्