Logo

सेवा सुधार गर्दै मालपोत कार्यालय



सुर्खेत, माघ १५ । सेवा प्रवाहका विषयमा बारम्बार गुनासो आउन थालेपछि जिल्ला मालपोत कार्यालयले दक्ष जनशक्ति र भौतिक संरचना व्यवस्थापनमा जोड दिएको छ । साँघुरो भवन र न्यून कर्मचारीका कारण सेवा प्रवाह असहज हुन थालेपछि कार्यालयले भौतिक संरचना विस्तार तथा थप जनशक्ति व्यवस्थापन गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा मालपोतले आइतवारदेखि नापी कार्यालयको पुरानो भवन प्रयोग गर्ने अनुमति पाएको छ । मालपोत परिसरमै रहेको यो भवनबाट सेवा सञ्चालन गर्दा सेवाग्राहीको भीड कम हुने अपेक्षा गरिएको छ ।

मालपोतले जिल्लाका ६ स्थानीय तहबाट दक्ष कर्मचारीको पनि माग गरेको छ । कार्यालय प्रमुख हिक्मतजंग शाहीले भेरीगंगा, लेकबेँसी, पञ्चपुरी नगरपालिका तथा चिंगाड, चौकुने र बराहताल गाउँपालिकासँग कम्प्युटर कर्मचारीको माग गरेको जानकारी दिए ।

उनका अनुसार ती स्थानीय तहले माघ १६ गतेपछि मात्र कर्मचारी पठाउने जवाफ दिएका छन् । सुर्खेतको सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकाको सेवा भने मालपोत कार्यालयको मेहेलकुना शाखाबाट हुँदै आएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि दुई जना कम्प्युटर प्राविधिक खटाइसकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्