Logo

फरेस्टरलाई प्रदेशमा समायोजन सिफारिस



काठमाडौं, माघ १५ । २ वर्षअघि समायोजनमा नसमेटिएका ४ सय २८ जना वन फरेस्टर कर्मचारीलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ । प्रदेश स्तरमा दरबन्दी सिर्जना गरी समायोजन गर्नका लागि प्रदेश सरकार उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट माग भएबमोजिम वन फरेस्टरलाई प्रदेशमा समायोजन गर्न वन मन्त्रालयले सिफारिस गरेको हो ।

२०७५ मा संघीय मामिला मन्त्रालयले ४ सय २८ जना वन फरेस्टरलाई फाजिलमा राखेपछि अहिले ती कर्मचारी अलपत्र परेका छन् । उनीहरू न यताका न उताका भएका छन् । जुनियएर वन प्राविधिक संघ नेपालका केन्द्रीय महासचिव अशोक झाले वनले गरेको सिफारिसलाई संघीय मामिला मन्त्रालयले कार्यान्वयन गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्ने बताए । ‘वनले सिफारिस मात्र गरेको छ । अब यसलाई कार्यान्वयन गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने काम संघीय मन्त्रालयको हो,’ झाले भने ।

फाजिलमा रहेका वन फरेस्टर अहिले प्रदेशमातहत डिभिजन वन कार्यालयमा कार्यरत छन् । तर उनीहरूलाई तलब दिन प्रदेश सरकारहरू पन्छिने गरेका छन् । संघीय मामिला मन्त्रालयले पनि उनीहरूलाई नियमित रूपमा तलब दिन मानेको छैन । निकै प्रयास गर्दा साउनको तलब बल्ल कात्तिकमा बुझेको उनीहरू बताउँछन् ।

फाजिलमा रहेका वन फरेस्टरले आफूहरूलाई तत्काल दरबन्दीमा समायोजन गर्न माग राख्दै आन्दोलन सुरु गरेका छन् । आन्दोलनको क्रममा संघीय सरकार र प्रदेश सरकारसँग दुई÷तीन पटक डेलिगेसनसमेत गइसकेका छन् ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्