Logo

पानी नभएपछि बसाइँ



जोमसोम, माघ १६ । हिमाली जिल्ला मुस्ताङका पाँच स्थानीय तहमा ९६ गाउँ छन्। सबैभन्दा विकट र पिछडिएको बस्ती हो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—५ को ‘ध्ये’।

वर्षौंदेखि कृषि र पशुपालनमार्फत जीविकोपार्जन गर्ने यो गाउँमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिएको छ। यहाँ प्राकृतिक तथा पर्यावरणीय प्रभाव देखिन थालेको छ। सिँचाइ, खानेपानी, चरन क्षेत्र र असमान हिमपातले पछिल्लो समय ध्ये गाउँ संकटमा परेका हो।

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित ध्ये गाउँ गुरुङ समुदायको बस्ती हो। भौगोलिक रूपले अत्यन्तै विकट यो गाउँमा कुल २६ घरधुरीको बसोबास छ। तर, जलवायु परिवर्तनको प्रभावले यहाँका स्थानीय अन्यत्र पलायन हुने क्रम बढेको छ। आधाभन्दा बढी घर परिवारले पुरानो थातथलो छोडिसकेका छन्। अन्य पनि स्थानान्तरण हुने क्रममा छन्।

ध्ये बासीले बर्सेनि एकबाली मात्र खेतीपाती गर्थे। सिँचाइ, खानेपानी, चरन क्षेत्रको अभाव बढेपछि अन्यत्र सर्नुको विकल्प नभएको स्थानीय पासाङ गुरुङ बताउँछन्। ध्ये गाउँको पुरानो बस्तीमा विगतमा गहुँ, तोरी, आलु र तरकारीले खेती हुन्थ्यो। पानीको स्रोत सुक्दै गएपछि पुख्र्यौली कृषि व्यवसाय धरापमा परेको गुरुङले बताए। एकपछि अर्को परिवार यहाँबाट अन्यत्र सर्ने क्रम नरोकिएपछि यहाँका स्थानीय गाउँको अस्तित्व जोगाउन जुटेका छन्।

ध्येवासीले करिब १२ किलोमिटर तल कालीगण्डकी किनाराको पूर्वतर्फको ध्ये—थाङ्जुङरचाम्वले भन्ने स्थानमा बस्ती स्थान्तरण गरेको पूर्व गाउँ मुखिया कुन्साङ गुरुङले जानकारी दिए। उपल्लो पुरानो ध्ये गाउँ र स्थानान्तरण भएको गाउँको उचाइ करिब एक हजार मिटर कम छ।

बस्ती स्थानान्तरणपछि स्थानीयले सार्वजनिक पर्तीजग्गा भोगचलन गरिपाउँ भनी साबिक जिल्ला समन्वय समिति तथा स्थानीय प्रशासनमा लिखित माग गरेका छन्। तर, सो मागबारे अझै सम्बोधन नभएको गुरुङको गुनासो छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्