परासी, माघ १६ । विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए। डीएसपी लामाका अनुसार उनीहरूको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो।
उनीहरूलाई सुरुमा पृथ्वीचन्द्र अस्पताल परासी लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि भैरहवा पुर्याइएको थियो। बुधबार राति १० बजेपछि चिच्याएको सुनेपछि स्थानीय बासिन्दा उनीहरूको घरको छत हुँदै च्यानल गेटको ताला फोडेर कोठामा पुगेका थिए।
स्थानीयले तीनै जनालाई छटपटाइरहेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ। कोठामा दुईवटा गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसमै विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीको आशंका छ। उनीहरूले बान्ता गर्ने क्रममा १०–१२ वटा विषका ट्याब्लेट ओकलेको भेटिएको थियो।
अनिताका पति जितेन्द्र वैदेशिक रोजगारीमा छन्। अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।