Logo

‘चुनावमा दुई तिहाई’ ल्याउने ओलीको यो अस्त्र



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल निकट नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्त नागरिक समाजको प्रदर्शनमा सहभागी भएकोतर्फ इंकित गर्दै प्रचण्ड र नेपाल दुवैलाई नागरिक अगुवा बनाइदिने बताए । उनले बिहिबार आफू निकटस्थ ट्रेड युनीयनको कार्यक्रममा तीन महिनाभित्र ओली र प्रचण्ड नागरिक अगुवामा सिमित हुने टिप्पणी गरे । उनले वैशाखमै चुनाव गर्ने र दुई तिहाई बहुमत ल्याउने सम्मको दाबी गर्न थालेका छन् ।

प्रतिनिधि सभा विघटन गराएर नेकपाका तीन पूर्व प्रधानमन्त्री प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई ओलीले सडकमा बस्न वाध्य पारे । अहिले उनी यी तीनै नेताभन्दा फरक तरिकाले बढिरहेका छन् । कम्युनिस्ट नेताको कार्यशैलीभन्दा ओलीको तरिका फरक देखिदै गएको छ । उनी धार्मिक गतिविधिमा सक्रिय हुँदै गएका छन् । कहिले पशुपतिनाथ त कहिले बुद्ध गुम्बा पुग्न थालेका छन् ।

ओलीको बोली भारतको राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत् भन्दा पनि हिन्दुवादी हुनथालेको छ । उनी अध्यात्मिक प्रवचनहरु दैनिकजसो दिन थालेका छन् । ऋषिमुनीको योगदान र पूर्वीय दर्शनको कुरा गर्न थालेका छन् । माक्र्सवादी स्कुलिङबाट आएका ओलीको बोलीमा भौतिकवादी नभई अध्यात्मवादी दर्शन सुनिनुले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । त्यसमाथि उनले माघ महिनाको सोमबार पारेर पशुपतिनाथको दर्शन गरी संकल्प पूजा गरेका छन् ।

ओलीले देशमा बढ्दो धर्मको सेन्टिमेन्टलाई पक्रन खोजेका छन् । उनले कम्युनिस्ट विचारको क पनि उच्चारण गर्न छाड्नु र अध्यात्मिक विषयबारे मात्र बोल्नुले यही संकेत गरेको छ । नेकपा अध्यक्ष प्रचण्डले त ओलीले धर्मनीरपेक्षतालाई सिध्याउन खोजेको बताइसकेका छन् । अन्य आरोपको खण्डन गरेपनि ओलीले यो आरोपको खण्डन गरेका छैनन् । उनले धर्मनीरपेक्षतालाई जोगाउने विषयबारे कहीं कतै नबोल्नुले कुनैपनि बेला नयाँ कदम चाल्नसक्ने सम्भावनाका रुपमा बुझिएको छ । उनले धर्मनीरपेक्षता हटाउने एजेन्डालाई कुनैपनि बेला उठाउन सक्ने देखिएको छ । यसको सन्देशहरु निरन्तर प्रवाह गरिरहेका छन् । उनले यसलाई राजनीतिक शक्ति सञ्चयका रुपमा लिन खोजिरहेको देखिन्छ । जसरी भारतमा नरेन्द्र मोदीले धर्मको एजेन्डा बोकेर राजनीतिक सफलता हासिल गरे ओली त्यही दिशातर्फ बढ्न खोज्दैछन् ।

मोदीले सन् २०१४ मा राष्ट्रवादको मुद्दालाई टेकेर भारतीय जनता पार्टीलाई शानदार जित दिलाए । दोस्रोपटक सन् २०१९ मा बहुमतका साथ चुनाव जित्दा धर्मको मुद्दालाई उठाएका थिए । विशेषगरी अयोध्यामा राम मन्दिर निर्माण मोदीको मुद्दा थियो । उनले पशुपतिनाथ र मुक्तिनाथको महत्वपूर्ण पूजा समेत गरे । यसबाट उनले हिन्दु समुदायबाट समर्थन बढाउन सके । मोदीले भारतमा पहिलो राष्ट्रवाद र पछि धर्मको मुद्दा उठाएर शक्तिशाली प्रधानमन्त्री बन्न सके त्यसरी नै नेपालमा ओलीले राष्ट्रवादको मुद्दा उठाएर शुरुमा प्रभाव बनाए ।

नाकाबन्दीको बखत उनले बलियो गरी अडान कसे । सीमाको विषयमा पनि उनी डगमग भएनन् । कालापानी क्षेत्रसहितको चुच्चो नक्शा जारी गर्न सके । ओलीको यो हिम्मतले उनलाई झन् शक्तिशाली बनायो । अब ओलीले मोदीकै शैलीमा धर्मको मुद्दा उठाउने सुरसार कसेका छन् । कम्युनिस्ट नेताको पशुपतिनाथ दर्शनको सन्देश अर्थपूर्ण छ । यही परिप्रेक्ष्यमा ओलीले चुनावमा दुई तिहाई ल्याउने दाबी गर्दैछन् । देशमा बढेको हिन्दु सेन्टिमेन्टलाई पक्रन ओली तम्तयार देखिएका छन् ।

देशभित्र धर्मको मुद्दामा जनलहर नै आउने अवस्था बनिरहँदा ओलीले त्यसैलाई पक्रन खोजेको देखिदैछ । केही समय अघि हिन्दु राष्ट्रको पक्षमा स्वतः स्फूर्त होस् या योजनावद्ध तरिकाले हजारौ लाखौं मानिसहरु सडकमा ओर्लिएका थिए । नागरिकको सेन्टिमेन्ट बुझेका ओलीले त्यसकारण पनि धर्मको अस्त्र फाल्न खोजेको देखिदैछ । उनी यही अस्त्रबाट विरोधीहरुलाई कमजोर बनाउन लागिपरेको देखिदैछ ।

प्रतिनिधि सभा विघटनको कठोर कदम चालेर अलोकप्रीय ओली यसैबाट लोकप्रीयता हासिल गर्न खोज्दैछन् । प्रतिनिधि सभा विघटनपछि शक्तिशाली नेताहरु देखि नागरिक अगुवाको ठुलो पंक्ति ओलीको विपक्षमा देखिएको छ । आफूविरुद्धको लहरलाई उल्टाउन पनि उनी धर्मको मुद्दामा केन्द्रित हुँदै गएका छन् ।-फाइल तस्बिरः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot