Logo

थन्किएको बजेट तानेर खोपमा



काठमाडौं, माघ १७ । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट काट्ने काम भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन्।

‘खोप किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको थियो’, मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्माले भने। त्यहीअनुसार बजेट रकमान्तर गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। काम नगरेका आयोजनाको बजेट तानेर खोप किन्ने, ढुवानी गर्ने र लगाउने काममा खर्च व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयले बताएको छ।

अझै कति खोप किन्नुपर्ने भनेर स्पष्ट भइनसकेको मन्त्रालयका अधिकारी बताउँछन्। खोप निःशुल्क उपलब्ध गराउने वा किन्न आर्थिक सहायता लिने विषयमा सरकारले विभिन्न तहबाट दातृ मुलुकसँग छलफल गरिरहेको छ।

कोरोना भाइरसविरुद्ध अन्तर्राष्ट्रिय मानवीय सहायता परिचालन हुने आशामा नेपालजस्तै धेरैजसो गरिब मुलुकले आन्तरिक स्रोतबाट बजेट छुट्याएका छैनन्। बहुपक्षीय दातृ निकायले पनि गरिब र गम्भीर जनस्वास्थ्य समस्या भोगिरहेका मुलुकलाई महामारी नियन्त्रण, उपचार र पुनरुत्थानमा सहायता दिँदै आएका छन्। विश्व बैंक, एसियाली विकास बैंकजस्ता ठूला बहुपक्षीय दातृ निकायले ठूलो रकम विकासशील मुलुकमा खोप उपलब्ध गराउन खर्चने भनिसकेका छन्।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot