काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट संविधान बनाउँदाको सहमति आफैँले उल्लंघन गरेको आरोप लगाएका छन् । उनले ओलीले संसदको विघटन गर्ने कदम असंवैधानिक भएकोले आफूहरु आन्दोलित भएको पनि जानकारी दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको संविधानविपरित जाने अधिकार कसैलाई पनि नहुने उनको चेतावनी छ । सुवास चन्द्र नेम्वाङ नै संविधानसभाको अध्यक्ष भएको बेला संविधान जारी भएको स्मरण गर्दै प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने बोलेको पनि रावलले सुनाए । प्रधानमन्त्रीलाई संसद विघटन गर्न पाउने अधिकार नदिईएको उनले जिकिर गरे । ओली–दाहाल नेपाल समूह अब नागरिक समाजको अगुवामात्रै हुने भनेर प्रधानमन्त्री ओलीको भनाईमा आपत्ति जनाउँदै उनले यस्तो बोलीको कुनै मूल्य नहुने रावलको भनाई छ । नेकपाको ४४१ केन्द्रीय कमिटीलाई नै निर्वाचन आयोगले मान्यता दिएकोले आफूहरु नै नेकपाको आधिकारिक भएको उनको दाबी छ । उनले आफूहरु नै नेकपाको आधिकारिक भएकोले दल दर्ताको किन आवश्यक पर्यो ? भन्दै प्रश्न उठाए ।
कुराकानीको क्रममा पत्रकार धमलाले दल दर्ताको तयारीमा आयोग जुटेको छ, तपाईँहरु दल दर्ताको लागि आयोगमा जाने कि नजाने ? भनेर सोधेको प्रश्नमा रावलले भने–”होईन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल त हाम्रो पहिल्यै दर्ता छ । यो दुनियाँलाई थाहा छैन् ? निर्वाचन आयोगले बुझेको छैन त्यो ? निर्वाचन आयोगले किन मान्यैता दिँदैन् ?’