काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन पुगेका छन् । उनले भरतपुर महानगरपालिकामा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक-गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको गृह जिल्ला पुगेर ठुला आयोजनाहरु शिलान्यास गरेर चुनौती दिएका छन् ।
शिलान्यास कार्यक्रममा निकै कडा सुरक्षा दिइएको थियो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले कार्यक्रम बहिष्कार गरेकी छिन् । उनले कार्यक्रमविरुद्ध प्रतिकार कार्यक्रम गर्ने बताएपछि सुरक्षा कडा पारिएको थियो ।
चितवनमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह पनि पुगे । बादलको गृहजिल्ला पनि चितवन नै हो । उनी र प्रभु शाह प्रचण्ड समूह छाडेर ओली समूहमा लागेका छन् । आजको शिलान्यासमा प्रचण्ड-माधव समूहले आपत्ति जनाइसकेको छ ।
भरतपुरको सिटी हल २७ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ । इण्डो सगुन रौताहा जेभीले ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको हो । यसमा २ हजार व्यक्ति अट्न सक्नेछन् ।
यसैगरी ६.०८ किलोमिटरको गोेन्द्राङ-नारायणगढ सडक छ लेनको बन्ने भएको छ । यसको लागत एक अर्ब १२ करोड रहेको छ ।-फाइल तस्बिर