Logo

काठमाडौंमै बर्डफ्लु, मासु राम्रोसँग पकाएर खान चिकित्सकको सुझाव



काठमाडौं, माघ १८ । काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै चिकित्सकले थप सतर्क रहन आग्रह गरेका छन् । काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटीपीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

शुक्रबार बर्डफ्लु पुष्टि भएपछि सो क्षेत्रमा पालिएको पशुपन्छी नष्ट गरिएको छ । विभागले १ हजार ८६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ । केही दिनअघि भारतमा बल्र्डफ्लु देखिएपछि नेपालमा पन्छीजन्य वस्तुको आयातमा रोक लगाइएको थियो । काठमाडौंमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने विभागले जनाएको छ ।

विगत एक महिनादेखि भारतका विभिन्न राज्यमा बर्डफ्लु रोग देखा परेसँगै नेपालमा पनि यो रोगको जोखिम बढेको भन्दै रोग भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै निकायलाई सतर्क अवस्थामा राखिएको छ ।

भारतबाट रोग सार्न सक्ने वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पशुसेवा विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन विभागले अनुरोध गरेको छ ।

यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गराउन आग्रह गरेको छ । विभागले विज्ञप्ति जारी गर्दै सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन भनेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot