Logo

तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारको निर्णय



काठमाडौं, माघ १८। सरकारले कुल ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४६औं बैठकले यस्तो निर्णय गरेको हो ।

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बुट मोडलमा निर्माण गर्न बैठकले भारतीय कम्पनी सतलज जलविद्युत् निमग लिमिटेडलाई छनोट गरेको हो । जसअनुसार यो आयोजना सतलजले निर्माण गरेर सञ्चालन गर्ने छ र निश्चित समयपछि सरकारलाई हस्तान्तरण गर्नेछ । भारत सरकारको स्वामित्व रहेको सतलजले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलिवद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । त्यसैले उसले तल्लो अरुण पनि आफूले पाउनुपर्ने अडान राख्दै आएको थियो । सोही अडानअनुरूप अहिले सरकारले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको जिम्मा दिएको हो ।

सरकारले भारतीय निर्माण कम्पनीलाई दिने निर्णय गरेको तल्लो अरुण आयोजनामा अहिले अर्को छिमेकी मुलुक चीनको पनि उत्तिकै चासो छ । चिनियाँ कम्पनी पावर चाइना कर्पोरेसनले जलविद्युत् लगानी तथा विकास कम्पनी एचआईडीसीएलसँग साझेदारी गरेर यो आयोजना बनाउने प्रस्ताव गरेको थियो

सरकारले मुलुककै आकर्षक मानिएको तल्लो अरुण जलविद्युत् आयोजना भारतीय निर्माण कम्पनी सतलज विद्युत् निगम (एसजेभीएन)लाई नै दिने निर्णय गरेकोमा अहिले सम्बन्धित सरोकारवालाले पनि निकै चासो राखेका छन् । यो भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको कम्पनी हो ।

लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडलअन्तर्गत ९निर्माण स्वामित्व सञ्चालन र हस्तान्तरण ९बुट मोडल०मा निर्माण गर्न सतलजलाई छनोट गरेको जानकारी दिए । यस आयोजना हात लगाउन भारतले लामो समयदेखि निकै प्रयास एवं ताकेता गरिरहेको थियो । अरुण तेस्रो आयोजना बनाइरहेको भारतले यसअघि तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म ताकेता गरेको थियो ।

नेपालसँग ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले तल्लो अरुणको विषय उठाइरहेको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कुल ९ सय मेगावाट क्षमताको सो आयोजनामा ५० प्रतिशत काम नसिकँदै अर्को आयोजना पनि सोही कम्पनीले पाएको हो । अब यो आयोजना तल्लो अरुणकै क्यासकेड प्रोजेक्टका रूपमा बन्नेछ ।

भारतीय ठेकेदार कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि ‘एसजेभीएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गर्दै छ । २०७६ सालको भदौमा नेपाल भ्रमणमा आएका भारतीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंहले भारतले अरुण तेस्रोको ढाँचामा नै तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने चाहना व्यक्त गरेका थिए । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भएको भेटमा उनले अरुण तेस्रोको निर्माण भारतले नै गरिरहेकाले तल्लो अरुण पनि भारतले पाए सहज रूपमा सम्पन्न गर्न सकिने बताएका थिए । सोही चाहनाअनुसार अहिले नेपाल सरकारले सो आयोजना निर्माणको काम भारतीय ठेकेदार कम्पनीलाई नै सुम्पिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot