Logo

धमाधम बन्दै संघीय संसद् भवनः १५ महिनामा २० प्रतिशत काम



काठमाडौं, माघ १८ । राष्ट्रिय महत्वको आयोजना संघीय संसद् भवन निर्माणको कामले गति लिएको छ । लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम तीव्र गतिमा अगाडि बढेको हो । निर्माण शुरु भएको १५ महिनामा भवन निर्माणको २० प्रतिशत काम सम्पन्न भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजनाले तोकिएकै समयसीमाभित्र भवन निर्माण गर्न कार्यतालिका नै बनाएर काम अगाडि बढाएको छ । विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीप श्रेष्ठले राष्ट्रिय महत्वको संघीय संसद् भवन निर्माणको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । उनले भने– ‘लकडाउनको अवधिमा पनि काम रोकिएन, अहिले दैनिकरुपमा कामको अनुगमन गरिरहेका छौं, कार्यतालिका बनाएरै लक्ष्यअनुसारको काम गराउन हामी लागिपरेका छौं ।’

संसद् भवन निर्माणका लागि हाल निर्माण कम्पनी टुण्डी÷सेक ज्वाइन्ट भेन्चरले ४ सय ५० जना कामदारको प्रयोग गरेको छ । तर आयोजनाले लकडाउनको कारण केही प्रभावित हुन पुगेको कामलाई गति दिन कामदार थप्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । आयोजना प्रमुख श्रेष्ठले भने– ‘कामलाई समयसीमाभित्र नै सम्पन्न गर्न कामदारको संख्या चार सय पचासबाट बढाएर सात सयभन्दा बढी पु¥याउन निर्देशन दिएका छौं ।’

भवनको महत्वपूर्ण मानिएको फाउन्डेसन निर्माणको काम सम्पन्न भएको छ भने कतिपय भवनको अन्तिम ढलानसमेत भइसकेको छ । भवन निर्माणको क्रममा गुणस्तरीयता कायम गर्नका लागि तोकिएको कन्सल्टेन्सी साथै आयोजनाका इन्जिनियरहरुले नियमितरुपमा अनुगमन गर्ने गरेको श्रेष्ठले बताए ।

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको छ । संसद् भवन आधुनिक र प्रविधिमैत्री बन्नेछ । संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । ५ अर्ब २ करोडमा निर्माण भइरहेको भवनमा संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ ।

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस र छपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ र सुरक्षाकर्मीको भवन रहनेछ ।

संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनेछ भने आपत्कालीन विशेष अवस्थाहरू भूकम्प आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको छ । दक्षिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल हुने हुनेछ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बेठक बस्ने हल हुनेछ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot