Logo

ढुक्क हुनुस्, कसैको सामु घुँडा टेकिन्नः प्रधानमन्त्री



काठमाडौं, माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको स्वाभिमान उच्च बनाउन आफू लागिपरेको र कसैको सामु घुँडा नटेक्ने बताएका छन् ।

नेकपा ओली समूहद्वारा चितवनको भरतपुरमा शनिबार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने र कुनै पनि हालतमा जनतालाई धोका नदिने प्रतिबद्धता जनाए । नेपाल र नेपालीको स्वाभिमान बचाउन आफूले अगुवाइ गर्ने र त्यसमा जनताको साथ पाउनेमा ढुक्क रहेको उनले बताए ।

‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन, पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन, नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, कुनै पनि अवस्थामा घुँडा टेकिएन,’ ओलीले भने, ‘अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, साथीहरू ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ, उठ्छ ।’ उनले देशको सार्वभौमिकताको रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधीनताको सही अर्थमा रक्षा र प्रयोग, देशको भूगोलको रक्षा, नेकपा नेतृत्वको यो सरकारले गर्ने बताए । देशको रक्षाका लागि आफूले नेतृत्व गर्ने पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले आगामी वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भएरै छाड्ने दाबी गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot