Logo

हिउँदे खडेरीबाट कृषक चिन्तित



पर्वत, माघ १८ । झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका छन् । पर्वतका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् ।

आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौँ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ ।

गत असोजको अन्तिम सातादेखि नै वर्षात् हुनसकेको छैन । पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गकी लीलादेवी पौडेल बताउन्छन्।

पर्वतको कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य ६३ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ । अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा जानकारी दिए।

गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा २० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उनको भनाई छ । विशेषगरी पर्वतको कुश्मा नगरपालिका, फलेवास नगरपालिका, जलजला गाउँपालिका, महाशिला र विहादी गाउँपालिकामा यसको प्रभाव देखिएको छ ।

यस क्षेत्रमा धान खेती थन्क्याएसँगै गहुँ, आलु, तोरी, फापरलगायतका हिउँदे बाली लगाउने गरिन्छ । पैञ्यु गाउँपालिका र मोदी गाउँपालिका केही क्षेत्र भने सिँचाइ सुविधा भएका कारण हिउँदे बाली सोचेअनुरुप उत्पादन हुने लक्ष्य लिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot