Logo

जलजलामा १५ हजार रोपनी जग्गा अतिक्रमण



पर्वत, माघ १९ । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ । गाउँपालिका स्तरीय अनुगमन समितिले एक वर्षसम्म गरेको अध्ययनबाट सडकको छेउछाउ र खोला किनारको १५ हजार २८२ रोपनी सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको हो ।

‘मालढुंगा–बेनी सडक खण्ड वरिपरिका बजार क्षेत्रमा बढी मात्रामा जग्गा कब्जा गरेको पाइएको छ,’ सामाजिक विकास अधिकृत लीलाधर सुवेदीले भने, ‘जग्गा फिर्ता गर्न प्रतिवेदन तयार पारेर दिएका छौं ।’

गाउँपालिकामा सार्वजनिक जग्गा कब्जा गरिएको सर्वसाधारणको गुनासो थियो । गाउँपालिकाले एक समिति बनाएर हालै सार्वजनिक जग्गा खोजी गरेको थियो ।

वडा नम्बर २, ३, ४, ७ र ८ मा स्थानीय बासिन्दाले सार्वजनिक जग्गा आफूखुशी भोगलचन गर्दै आएका छन् । सार्वजनिक जग्गा खोजी अभियानका क्रममा मालढुंगा–बेनी सडकछेउ तथा कालीगण्डकी किनारमा मात्रै ठूलो परिमाणमा अतिक्रमण गरिएको पाइएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए । धेरैजसो जग्गा राजमार्गसँग जोडिएको, कालीगण्डकी नदी किनारमा रहेको र त्यहाँ व्यक्तिले कब्जा गरेको पाइएको उनले बताए ।

यस्ता जग्गा केन्द्र सरकारसँगको समन्वयमा फिर्ता ल्याएर भाडामा लगाउने, सार्वजनिक आम्दानी लिने गरी उपयोग गर्ने र विपन्नलाई आयआर्जनका लागि उपलब्ध गराउने गाउँपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार पहिलो चरणमा भेटिएको जग्गा व्यवस्थापनपछि दोस्रो चरणमा अरू वडाको जग्गा पनि खोजी गरिनेछ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot