काठमाडौं, माघ १९ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा निवेदक पक्षबाट बहस सकिएको छ । माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस गरेको सर्वोच्चले जनाएको छ ।
सबै निवेदनको पक्षमा बहसका लागि तीन सयभन्दा बढीको वकालतनामा थिए । त्यसका लागि १३ कार्यदिनमा निवेदकको तर्फबाट बहस सकिएको हो । सोमबारदेखि विपक्षीका तर्फबाट बहस प्रारम्भ हुनेछ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस प्रारम्भ गर्ने तयारी छ ।
सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता खरेलसहित ११ जनाले बहस गर्नेछन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेश नेपाल, नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेललगायतले बहस गर्नेछन् ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदी, श्यामप्रसाद खरेलले बहस गर्नेछन् ।
गोरखापत्र दैनिकबाट