Logo

दोस्रो त्रैमासमा बढ्यो १४ वाणिज्य बैंकको निष्क्रिय कर्जा



काठमाडौं, माघ २०। चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्ममा १ दर्जनभन्दा बढी वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) बढेको छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ओटा बैंकको गत आवको पुसको तुलनामा चालू आवको दोस्रो त्रैमासमा निष्क्रिय कर्जा (नन परफर्मिङ लोन) बढेको हो । बाँकी १२ ओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ भने सेन्चुरी कमर्शियल बैंकको एनपीएल गतवर्षको जति नै छ । चालू आवको पहिलो त्रैमासमा भने १८ बैंकको एनपीएल बढेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । यो बैंकको एनपीएल उच्च देखिए पनि दोस्रो त्रैमासमा झीनो सुधार भएको छ । सो बैंकको गत आवको दोस्रो त्रैमासमा ४ दशमलव ७७ प्रतिशतमा रहेको एनपीएलमा शून्य दशमलव ५४ प्रतिशत विन्दुले सुधार भए पनि गत पुसमा ४ दशमलव २३ प्रतिशत पुगेको छ ।

एनपीएल थोरै नियन्त्रण आए पनि कोभिडका कारण ब्याज तथा किस्ता भुक्तानीमा प्रभाव परेको राष्ट्रिय वाणिज्य बैंकले बताएको छ । बैंकका अनुसार यसअघिको त्रैमासिक प्रतिवेदनमा कोभिडबाट अतिप्रभावित क्षेत्रहरूबाट ब्याज तथा किस्ता भुक्तानी भएको थिएन । कोभिड प्रभावितलाई भुक्तानीका लागि दबाब दिन पनि नमिल्ने बैंकको भनाइ छ ।

दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकमध्ये धेरै एनपीएल भएको दोस्रो र तेस्रो पनि सरकारी स्वामित्वकै क्रमशः कृषि विकास बैंक र नेपाल बैंक रहेका छन् । कृषि विकास बैंकको चालू आवको दोस्रो त्रैमासमा ३ दशमलव १४ प्रतिशत एनपीएल रहेको छ । तर, यो गतवर्षको भन्दा शून्य दशमलव ७७ प्रतिशत विन्दुले नियन्त्रणमा आएको छ । गत आवको उक्त अवधिमा एनपीएल ३ दशमलव ९१ प्रतिशत थियो । नेपाल बैंकको एनपीएल गत वर्षको तुलनामा शून्य दशमलव २२ प्रतिशत विन्दुले बढेर २ दशमलव ८८ प्रतिशत पुगेको छ ।

चालू आवको दोस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशनल र स्ट्यान्डर्ड चार्टर्ड बैंकको गत वर्षको तुलनामा एनपीएल ह्वात्तै बढेको छ । सिटिजन्स बैंकको चालू आवमा १ दशमलव ४३ प्रतिशत विन्दुले बढेर २ दशमलव ४२ प्रतिशत पुगेको छ । गतवर्ष एनपीएल शून्य दशमलव ९९ प्रतिशत रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot