Logo

तल्लो अरूण जलविद्युत् आयोजनाः  ७९ प्रतिशत विद्युत् भारतले लैजाने



काठमाडौं, माघ २० । ६७९ मेगावाटको तल्लो अरूण जलविद्युत् आयोजना निर्माण गर्न छनोट भएको भारतको एसजेभीएन लिमिटेडले उक्त प्रोजेक्टबाट उत्पादन हुने ७९ प्रतिशत विद्युत् भारतमै लैजाने भएको छ ।

कम्पनीले उक्त आयोजनाबाट उत्पादन हुने सो बराबरको विद्युत् अर्थात् ५३६ दशमलव ४१ मेगावाट विद्युत् भारतीय बजारमा नै निर्यात गर्ने भएको हो । २१ प्रतिशत अर्थात् १४६ दशमलव ३७ मेगावाट विद्युत् भने नेपालले निःशुल्क पाउनेछ । आयोजना बनाउने प्रस्ताव पेश गर्दा नै कम्पनीले यस्तो प्रस्ताव गरेको हो ।

योसँगै नेपालबाट विद्युत् निर्यात गर्नेगरी निर्माण हुने आयोजनाको संख्या ३ पुगेको छ । एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र भारतको जीएमआर कम्पनीले निर्माण गर्ने ९०० मेगावाटकै अपर कर्णाली जलविद्युत् आयोजनाले पनि नेपालाई तोकिएको मात्रामा निःशुल्क विद्युत् दिएर बाँकी सबै विद्युत् निर्यात गर्नेछन् । नेपालले अरूण तेस्रोबाट २१ दशमलव ८८ प्रतिशत र अपर कर्णालीबाट १२ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ ।

लगानी बोर्डले गत हप्ता तल्लो अरूण जलविद्युत् आयोजना बनाउन भारतको एसजेभीएनलाई छनोट गरेको हो । उक्त कम्पनीसँग प्रतिस्पर्धामा रहेको चिनियाँ कम्पनीले भने २५ प्रतिशतसम्म विद्युत् निःशुल्क दिने प्रस्ताव गरेको थियो । तर, छनोटका लागि बनाइएको समग्र मापदण्ड मूल्यांकन गर्दा एसजेभीएनको नम्बर बढी आएपछि सोही कम्पनीलाई नै छनोट गरिएको बोर्डको भनाइ छ । ऊर्जा मन्त्रालयको एक उच्च स्रोतका अनुसार एसजेभीएनले चिनियाँ कम्पनीलाई लगभग ३ नम्बरले पछि पारेको छ । ‘निःशुल्क विद्युत्लाई मात्र लिएर मूल्यांकन गरिएको होइन । तोकिएको सबै मापदण्डमा मूल्यांकन गर्दा जम्मा नम्बर एसजेभीएनको बढी आयो,’ उनले भने, ‘त्यसपछि यही कम्पनी नै छनोट भएको हो ।’ मूल्यांकनमा चिनियाँ कम्पनीले ८१ र एसजेभीएनले ८३ अंकको हाराहारीमा नम्बर पाएको उनको भनाइ छ ।

आयोजना विकासका लागि छनोट भएपछि कम्पनीको उक्त प्रस्ताव नेपाल सरकारले स्वीकार गरिसकेको छ । तर, आयोजना विकास सम्झौता गर्दा भने त्यसमा संशोधन पनि हुन सक्ने बताइएको छ ।

प्रक्रियागत रूपमा अब बोर्डले उक्त कम्पनीसँग आयोजना कसरी विकास गर्ने भन्ने विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि कम्पनीलाई बोर्डले नै सर्बे लाइसेन्स र निर्माणको अनुमतिपत्र दिनेछ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot