Logo

अख्तियारमा पूर्व प्रहरीको दौडधुप



काठमाडौं, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रेम राई लगायतको नियुक्तिबारे अन्योलता कायमै छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाईको पत्र फिर्ता गरिदिएपछि यो प्रकरण अझै पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भने जसरी पनि यो साता राष्ट्रपतिमार्फत नियुक्ति गराउने तयारीमा छन् ।राई लगायतको अख्तियारमा नियुक्ति भएमा अख्तियारका हालका कार्यवहाक प्रमुख आयुक्त डा गणेशराज जोशी र डा सावित्री गुरुङले राजिनामा दिनेछन् । राईले विगतमा जोशी र गुरुङकै मातहतमा सचिवको रुपमा काम गरेको र अहिले उनको मातहतमा काम गर्न नसक्ने भन्दै उनीहरुले राजिनामा दिने तयारी गरेका हुन् । त्यो अवस्थामा आयोगमा दुई पद रिक्त हुने छन् । ती पदमा नियुक्तिका लागि लबिङ चलिरहेको छ । यदि राजीनामा नदिए दुई महिनापछि उनीहरुले अनिवार्य अवकाश पाउँदैछन् ।

अख्तियारमा रिक्त हुन लागेका दुई आयुक्त पद नेपाल प्रहरीका दुई पूर्व अधिकारीहरुले ताकेका छन् । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र पूर्व एआइजी पुष्कर कार्कीबीच अख्तियारमा पनि प्रतिस्पर्धा चलिरहेको छ । प्रहरी संगठनमा हुँदा पनि उनीहरुले आफ्नो व्यक्तिगत स्वार्थका कारण संगठनलाई कमजोर बनाएका थिए । एसएसपी हुँदा दुवैले आफु निकट गुन्डालाई संरक्षण गरी विरोधीको इन्काउन्टरका नाममा हत्या गरेका थिए । खनालले महानिरीक्षक हुँदा बजेट दुरुपयोग गरी करोडौं कमाएको आरोप छ भने कार्की सीआइबीमा हुँदा सुन तस्करलाई जोगाउनेदेखि एनआईसी एसिया बैंकको घोटाला प्रकरणको अनुसन्धानमा कर्मचारीलाई जोगाएर लाभ लिएको थियो । त्यसरी कमाएको पैसा खर्च गरेरै भए पनि उनीहरु अख्तियारमा नियुक्तिका लागि दौडधुप गरिरहेका छन् ।

उता प्रेम राई, जयबहादुर चन्द र किशोर सिलवालको नियुक्तिको विवादमा मुख्यसचिव शंकरदास बैरागी समेत तानिने देखिएको छ । राष्ट्रपति समक्ष नियुक्तिका लागि मुख्यसचिवले पत्र लेख्नुपर्छ । संसद सचिवालयबाट नियुक्तिका लागि सहमति आएपछि उनले राष्ट्रपति कार्यालयलाई पत्र लेख्ने हो । तर, सभामुखले नै पत्र फिर्ता पठाएपछि अब मुख्यसचिवले नियुक्तिको लागि पत्र कुन कानूनको आधारमा लेख्ने भन्ने ठूलै समस्या हुने देखिन्छ ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot